काठमाडौं । उपहार पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। साइबर ब्युरोले दुई जनालाई ठगी आरोपमा पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए।
पक्राउ पर्नेमा भारतको दार्जिलिङ घर हुने ४० वर्षीय मोहम्मद हाकिम र झापा मेचिनगर नगरपालिका–८ बस्ने ३७ वर्षीय बिममाया मगरलाई पक्राउ गरेको हो। उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो।
उनीहरूले पीडितलाई फेसबुक मेसेन्जरमार्फत मेसेज गरेका थिए। मेसेज गरी आफूहरू सिरियामा कार्यरत अमेरिकन आर्मी हुँ भन्दै चिनाएका थिए।
आफूसँग अमेरिकी डलर भएको र उक्त रकम पठाइदिने भन्दै प्रलोभनमा पार्न फोटोहरू समेत पठाउने गरेको अनुसन्धानबाट देखिएको छ। यस्तै उपहार समेत पठाइदिएको र एक–दुई दिनमा आइपुग्ने हुँदा रिसिभ गर्न जान बाध्य समेत पारेको देखिएको छ।
रकम र उपहार आवश्यक नभएको भनेपनि इन्टरनेशनल मनिटरी फन्ड (आइएमएफ)को फन्ड अप्रोभल सर्टिफिकेटको फोटो दुरूपयोग गरी मनी लाउन्डरिङ समेत फसिसकेको भन्दै धम्क्याउने गरेको एसपी रायले बताए।
यसरी फसिसकेको हुँदा ह्वाट्सएप नम्बरमा आएको बैंक खातामा पटकपटक पैसा जम्मा गराउन लगाएको देखिएको छ। यसरी ठगी गरेको आरोपपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
काठमाडौं जिल्ला अदालतले उनीहरूलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति समेत दिएको छ।