कास्की । पोखरा सभागृहचोकदेखि बिपीचोकसम्मको दूरी एक हजार पाँच सय मिटर छ । तुलनात्मक रुपमा पोखराको अन्य सडक भन्दा फराकिलो छ यहाँको सडकखण्ड । पोखराको व्यस्त सडकमध्येमा एक हो यो सडक । सोही कारण सवारीको चाप बढी हुनुका साथै यात्रुको ओहोरदोहोर पनि धेरै हुन्छ । चाक्लो सडकमा चालकले सवारी नियम, तथा लेनको ख्याल नै नगरी ‘ओभरटेक’ र सवारी ‘क्रस’ गर्न भ्याउछन् । जसले गर्दा साना, ठूला सवारी दुर्घटना बढिरहेका छन् । सडकमा हुने यस्ता दुर्घटना न्यूनीकरण हुन नसकेपछि समस्या समाधानका लागि महानगरसम्म पुगेको थियो ट्राफिक प्रहरी ।
ट्राफिक प्रहरीको पहलमा पोखरा महानगरपालिकाले ‘ट्राफिक लाइट’ राख्ने योजना अघि बढाए अनुरुप ‘ट्राफिक लाइट’ का लागि पोलसँगै ‘डिभाइडर’ राख्ने काम सुरु भइसकेको महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । करिब तीन महिनामा सक्ने गरी सभागृहचोकदेखि बिपीचोकसम्म गार्डेनिङसहितको डिभाइरमा सडकबत्ती राख्ने काम सुरु गरेको जानकारी दिनुहुदै यसले सडक दुर्घटनामा पनि कमी आउने आचार्यले बताए ।
महानगरले बत्ती सहितको डिभाईडर काम गरिहेकाले काम सकिएपछि ट्राफिक व्यवस्थापनमा सहज हुने ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक प्रकाश शाहले बताए । “हामीले आवश्यक ठाउँमा मात्र क्रसिङ दिएका छौँ । यसले चालकलाई कहाँबाट दाहिने, देब्रे गर्ने, कहाँबाट यू टर्न गर्ने भन्नेमा सचेत गराउँछ”, शाहले भने । तर पछिल्लो समय सुन्दरता बढाउन र सडक दुर्घटना न्यूनीकरणका लागि भइरहेको काममा ढिलासुस्ती हुँदा सहर थप अस्तव्यस्त बनेको छ भने दुर्घटनाको जोखिम पनि बढेको स्थानीय बताउँछन् ।
डिभाइडर र सडकबत्ती राख्ने काम छुट्टाछुट्टै कम्पनीले गरिहेका छन् । सडक बत्तीको ठेक्का पाएको कम्पनीले काम लगभग सकिसकेको छ । डिभाइडर बनाउने ठेक्का पाएको निर्माण कम्पनीले आधा काम पनि नगर्दा दुर्घटनाको जोखिम बढ्नुका साथै धुलोको सास्ती भोग्नुपरेको न्यूरोडका व्यवसायी रमेश ठकुरीले बताए ।
पोखरा महानगरका इञ्जिनीयर सुरेन्द्रले पौडेलले खरिद नियमावलीअनुसार यो आयोजनाका लागि वैशाखको ३० गतेसम्म म्याद भएको जानकारी दिए । उनका अनुसार काम तिव्र गतिमा नै भइरहेको छ ।
पिच सडकमा मिलाएर कटिङ गर्नुपर्ने भएकाकारण पनि निर्माण कार्य ढिला भएको हुनसक्ने उनले बताए । निर्माण कम्पनीले डोरी वा ट्राफिक कोन राखेर काम गरिरहेको बताए । उनले निर्माण कार्य निर्धारित समयसिमा भित्रै सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेकाले समयमा नै काम सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताए ।