logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • दलका नेता भन्छन्- निर्वाचन प्रणाली खर्चिलो र भड्किलो भयो, यसमा सुधार गरौं

    दलका नेता भन्छन्- निर्वाचन प्रणाली खर्चिलो र भड्किलो भयो, यसमा सुधार गरौं

    1.3K
    Shares
    दलका नेता भन्छन्- निर्वाचन प्रणाली खर्चिलो र भड्किलो भयो, यसमा सुधार गरौं

    काठमाडौं । राजनीतिक दलका नेताहरुले निर्वाचन प्रणाली निकै खर्चिलो भएको भन्दै कम खर्चमा निर्वाचन सम्पन्न हुनेगरी व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

    बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीसहित दलका शिर्ष नेताहरु तथा दलका प्रतिनिधिसँग निर्वाचन आयोगले निर्वाचन प्रणाली सुधारको सम्बन्धमा छलफल गरेको थियो ।

    सो छलफलका क्रममा दलका नेताहरुले निर्वाचन प्रणाली निकै खर्चिलो भएकाले कम खर्चमा निर्वाचन सम्पन्न हुनेगरी व्यवस्था गर्न आयोगलाई सुझाव दिएका हुन् । छलफलमा बोल्ने अधिकांश नेताहरुले धन हुनेहरुले मात्रै वर्तमान प्रणालीमा निर्वाचनमा उम्मेदवार बन्नसक्ने अवस्था रहेको भन्दै आम नागरिकले निर्वाचनमा उम्मेदवार बन्नसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

    छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचन धनाढ्यहरुले मात्रै लड्नसक्ने अवस्था रहेकाले त्यसको अन्त्य गर्नेगरी निर्वाचन ऐनमा सुधार ल्याउनुपर्ने सुझाव दिएको बताए ।

    उनले मुचुल्का अनुरुप मतदान भएको बाकसमा मत फरक परेको अवस्थामा के गर्ने भन्ने ऐनमा स्पष्ट व्यवस्था नभएकाले त्यसको पनि स्पष्ट व्यवस्था हुनुपर्ने बताए । त्यसैगरी स्वच्छ छवि भएको व्यक्तिलाई मात्र उम्मेदवार बनाउनेगरी प्रष्ट र पारदर्शी मापदण्ड बनाउनुपर्ने सुझाव आफूले राखेको उनले बताए ।

    त्यस्तै सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री झनक प्याकुरेलले निर्वाचन प्रणाली खर्चिलो र भड्किलो भएको भन्दै त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिएको बताए ।

    उनले संघीयतालाई देशले बोक्न नसक्ने भएकाले त्यसको विकल्पमा जनउत्तरदायी शासन प्रणाली ल्याउनुपर्नेमा पनि आफूले सुझाव दिएको बताए ।

    लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झाले आफ्नो पार्टीको तर्फबाट पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनुपर्नेमा जोड दिइएको बताए । त्यस्तैगरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनेगरी शासकिय स्वरुप बनाउनुपर्नेमा उनको जोड थियो । विदेशमा रहेका नेपालीलाई मतदानको प्रक्रियामा ल्याउनुपर्ने विषय पनि सबैले उठाएको उनले बताए ।

    जनता समाजवादी पार्टीका नेता प्रकाश अधिकारीले पनि निर्वाचन प्रणाली खर्चिलो भएकाले जनताले राम्रो प्रतिनिधि छान्ने अवसर नपाएको बताए । त्यसको सुधार गर्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने उनको भनाई थियो ।

    नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले फौजदारी अभियोग लागेका व्यक्तिलाई उम्मेदवार बनाउने पार्टीहरुलाई नै कारबाही गर्ने व्यवस्था ल्याउनुपर्ने बताए । उनले अभियुक्त भएका विजयी उम्मेदवारलाई पारिश्रमिक तथा सेवा, सुविधा दिनु नहुनेमा जोड दिए ।

    नेता सुवालले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने कुरा प्राविधिक रुपमा असम्भव भएकाले पहिले प्राविधिक रुपमा पूर्ण रुपमा सक्षम भएमात्र सो प्रक्रियाको थालनी हुन सक्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend