logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • टर्की र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित

    टर्की र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित

    4.1K
    Shares
    टर्की र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित

    टर्की । कहरामनमारासलाई केन्द्रविन्दु बनाएर हालै भएको शक्तिशाली भूकम्पमा परेर छत्तीस हजारभन्दा बढीको हताहतिपछि अब टर्की र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित भएको छ ।

    अकल्पनीय क्षतिले निम्त्याएको मानवीय संकटलाई संबोधन गर्न, घरबार बिहीन भएका लाखौँलाई सहयोग गर्न, उनीहरूका निम्ति गाँस र बासको व्यवस्थातर्फ उनीहरूको ध्यान केन्द्रित भएको हो ।

    भूकम्पका कारण रसदपानीको अभाव र चरम चिसोले नराम्ररी पिरोलिएका भूकम्पपीडित भग्नावशेषमा आफन्तलाई जीवितै फेला पार्ने आश मारेर बसेका छन् । यद्यपि खोज तथा उद्धार जारी छ ।

    हालसम्म १२ लाख भूकम्पपीडितलाई विद्यार्थीका आवासमा अस्थायी रूपमा व्यवस्थापन गरिएको, दुई लाख छ हजारभन्दा बढी पाल टाँगेर बासको व्यवस्था गरिएको तथा चार लाख पीडितलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको टर्की सरकारले जनाएको छ ।

    भत्किएका भवनका भग्नावशेषबाट जीवित उद्धार गरिएका पाँच सय ७४ जना बालबालिकामध्ये ७६ जनालाई तिनका अभिभावकसमक्ष सुम्पिइएको छ । धेरैका आमाबाबु अझै बेपत्ता छन् । उनीहरू बोल्न नसक्ने भएकाले उनीहरूका अभिभावक पत्ता लगाउन कठिन भएको उनीहरूको भनाइ छ ।

    भूकम्पले तहसनहस भएको टर्कीको अन्टाक्या शहरका केही स्थानमा टेलिफोन नेटवर्क सञ्चालनमा आएको, भग्नावशेष पन्छाउँदै शौचालय निर्माण थालिएको छ । शहरमा लुटपाटका घटना दोहोरिन नदिन सुरक्षाकर्मी तैनाथ गरिएको छ । खाद्यान्न र अन्य सहायता सामग्री बोकेका सवारी साधन आइरहेका छन् ।

    प्रारम्भिक आकलनअनुसार टर्कीमा ८५ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको छ । झण्डै ७१ अर्ब डलरको भौतिक क्षति आवास क्षेत्रमा भएको छ ।

    एक दशकभन्दा लामो समयदेखि गृहयुद्धले गाँजेको सिरियाको क्षतिको आकलन भइसकेको छैन । विद्रोहीको नियन्त्रण्मा रहेका सिरियाली भूभागमा राहत सामग्री कसरी पु¥याउने भन्ने चिन्ताबाट संयुक्त राष्ट्रसङ्घ मुक्त हुन सकेको छैन । दुवै देशका पीडितहरू समयमै सहायता प्राप्त नभएकामा आक्रोशित छन् ।

    सिरियाका राष्ट्रपति बसर अल असदले ध्वस्त भएका देशका भौतिक पूर्वाधार निर्माणमा मद्दत गर्न अन्तर्राष्ट्रिय सहयोगा निम्ति आह्वान गरेका छन् । करिब ५० लाख सिरियाली युद्धसँगै भूकम्पबाट घरबारविहीन भएका छन् ।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सिरियामा मानवीय सहायता परिचालन गर्न उत्तरपश्चिम सिरियाका दुई वटा नाका खोल्न राष्ट्रपति असद सहमत भएको बताए ।

    सिरियाको यातायात मन्त्रालयका एक जना अधिकारीका अनुसार हालसम्म राहत सामग्री लिएर विभिन्न देशका ६२ विमान सिरिया आएका छन् । आगामी दिन थप सहायता सामग्री प्राप्त हुने अपेक्षा गरिएको उनले बताएका छन् । साउदी अरबबाट थप सहायता प्राप्त हुने उनको विश्वास छ ।

    संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले घर भत्केका लाखौँ सिरियालीलाई अधिकभन्दा अधिक सहायता आवश्यक भएको बताएका छन् । सोमबार सुडानले ३० टन राहत सामग्री पठाएको छ । सोमबार नै अस्थायी आवास निर्माणमा प्रयोग हुने सामान बोकेका मालबाहक सवारी साधन टर्कीएबाट उत्तरपश्चिम सिरिया पुगेका छन् । रासस/एएफपी

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend