logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • भ्यालेन्टाइन मुडमा कवि बसन्त चौधरी, लठ्ठिए दर्शक

    भ्यालेन्टाइन मुडमा कवि बसन्त चौधरी, लठ्ठिए दर्शक

    1.4K
    Shares
    भ्यालेन्टाइन मुडमा कवि बसन्त चौधरी, लठ्ठिए दर्शक

    काठमाडौं । प्रेमको प्रतिक गुलाबको फूलको ब्याच लगाएका दर्शक । अधिकांश प्रेमिल रंगको पोशाकमा सजिएका छन् । खचाखच भरिएको काठमाडौंको मण्डला थिएटर भित्रको शितल वातावरण । रंगहरुको कलात्मक समायोजन र फूलहरुको सजावटले अझ प्रेमिल बनेको पल, मानौं हलमा उपस्थित सबै प्रेम गर्न आएका हुन् । प्रेमको परिभाषा खोज्न आएका हुन् । अनि आपसमा प्रेम साट्न आएका हुन् ।

    गुलाबी रातो र कालो रंगको पोशाकमा सजिएका चर्चित कवि तथा गीतकार बसन्त चौधरीको आगमनसँगै हलमा हुटिङ सुरु भयो । कलात्मक सजावटले चिटिक्क परेको स्टेजमा दिइएको मन्द प्रकाशमा फिस्स हाँस्दै सुरु भयो चौधरीको बहुप्रतिक्षित एकल कविता वाचन ‘कवितासँग बसन्त’ ।

    स्वास्थ्य समस्या लगायतका कारण झण्डै साढे ३ वर्षको निस्क्रिय जीवनलाई चिरेर पुनः सक्रिय बनेका चौधरीले विभिन्न २० देशमा प्रस्तुत गरेका विश्व काव्य यात्राकै शैलीमा यस पटकको प्रणय दिवसलाई विशेष र रोमाञ्चक बनाए ।

    ‘लभ इज इन दि इयर’को थिम दिइएको एकल कविता वाचन कार्यक्रमका क्रममा चौधरी आफ्ना प्रिय दर्शक तथा प्रशंसकसँग एकघण्टा पोखिए । सो क्रममा उनले एकदर्जन बढी कविता, मुक्तक र गजल सुनाए । सबै रचना प्रेम, प्रेमिका र प्रेमिल सम्बन्ध लगायतसँग सम्बन्धित थिए ।

    चौधरीका कविता समकालीन मनुष्यका सुख दुःख, हाँस्य एवम् रोदन अर्थात प्रेमानूभूतिसँग सम्बन्धित हुन्छन् । उनले कवितामा प्रयोग गर्ने बिम्ब र प्रतीक अनौठा हुने गरेका छन् । यस्तै विशेषता यसपटकको प्रणय दिवसमा प्रस्तुत रचनाहरुमा समेत झल्कियो ।

    सो क्रममा कवि चौधरीले आफू कविताको माध्यमले एउटा छुट्टै प्रेममय संसारको रचना गर्न चाहेको बताए । ‘आँसु, हाँसो, सुखदुख जस्ता भावनात्मक रहरबाट नै कविता जन्मिन्छ । म चाहन्छु, मेरो कविता नदीको शितल प्रवाहसरी शान्त होस् । पहराबाट छुटेको छहरासरी गतिमय पनि ।’ उनले भने–‘जब मेरा भावनाहरुले शब्द उच्चारण गर्छन । अनि वास्तवमा मलाई सुखको अनुभूति हुन्छ । साँच्चै भन्ने हो भने कविताको माध्यमले एउटा छुट्टै प्रेममय संसार रचना गर्न चाहन्छु ।’

    समर्थनमा दर्शकदिर्घाबाट पर्रर तालि बज्यो । सो क्रममा कवि चौधरीले आफूले सुरु गरी हाल रोकिएको प्रतिष्ठित विश्व काव्ययात्राको पुनः थालनी गरिने उद्घोष समेत गरे ।

    सो अवसरमा कवि चौधरीलाई सुन्न मण्डला थिएटर पुगेका करिब डेढसयजनाले उनका दुईवटा पुस्तक ‘मेरा गीत’ (गीतहरुको संग्रह) तथा ‘जीवनमन्त्र–२’ (सुक्ति संग्रह)को सामूहिक लोकार्पण समेत गरेका थिए । बसन्त चौधरी नेपाली साहित्यमा प्रेमसँग सम्बन्धित कविता तथा रचनाका लागि स्थापित नाम हो ।

    नेपाली भाषाका साथै हिन्दी भाषामा समेत कवि चौधरीले सशक्त सिर्जनाहरु सार्वजनिक गरिसकेका छन् । केही समयअघि उनका ८५ वटा कविताहरुको संग्रह ‘तिमीबिनाको म’ सार्वजनिक भएको थियो । यसमा संग्रहित अधिकांश रचना प्रेमसँग सम्बन्धित छन् ।

    त्यसअघि हिन्दी काव्य संग्रह ‘अनेक पल और मैं’ सार्वजनिक भएको थियो । ‘मेघा’देखि ‘तिमीबिनाको म’सम्म उनका एकदर्जन कृतिहरु प्रकाशित छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend