काठमाडौं । नेपाली काँग्रेसका सांसद दिपक गिरीले दाङस्थित लमही–घारोही–तुलसीपुर सडकखण्डको निर्माण कार्यमा ढिलाई भईरहेकोमा आपत्ति जनाएका छन् । चार वर्षदेखि बनाउन सुरु गरिएको सो सडकखण्डमा दुर्घटनामा परी करिव २२ जनाले ज्यान गुमाउँदा पनि त्यसको निर्माण कार्य सम्पन्न गर्न सरकारले चासो नदिएकोमा उनको आक्रोश थियो ।
बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले सो सडकखण्डको निर्माण कार्य ढिलाई हुनुको कारणबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गरे ।उनले ३० महिनामा सम्पन्न गर्ने सम्झौंतासहित सुरु गरिएको सो सडक खण्डको निर्माण कार्य ३ पटक म्याद थप गर्दा पनि ९ दशमलव ९ प्रतिशत मात्रै निर्माण भएको उल्लेख गर्दै यस्तो लाजमर्दो अवस्था आउन नदिन नेपाल सरकार र सम्बन्धित निकाय गम्भिर बन्नुपर्ने पनि बताए ।
सांसद गिरीले सरकारले सांसदहरुले संसदको विशेष समय र शुन्य समयमा उठाएर प्रश्नको उचित जवाफ हालसम्म नदिएकोभन्दै दुखेसो समेत व्यक्त गरे ।
उनले भने, ‘दाङमा ३० महिनामा बन्नुपर्ने बाटो आज ४ वर्ष हुँदा पनि नबनेर त्यहाँ करिव त्यो बाटो नबनेको कारणले यो चार वर्षको समयमा करिव २२ जनाको मृत्यु भईसकेको छ । यस्तो डरलाग्दो अवस्था छ सो बाटोको । वर्षामा हिलाम्मे हुने, हिउँदमा धुलो उडने । तर सरकारी निकाय अथवा सडक विभाग अथवा नेपाल सरकार किन मौन छ ? के कारणले छ ? बोल्न बाध्य भएका छौं हामी । यसको बारेमा सभामुखमार्फत् यो गरिमामय सदनलाई जानकारी गराउनु प¥यो । यस्ता कुराहरु उठिरहन्छन । त्यो बाटो किन आजसम्म बरिरहेका छैन ? अहिले ४ वर्ष भयो । सुन्दैछु–त्यो आयोजना रद्ध हुँदैछ । अनि त्यसपछि के हुने ? यसबारे नेपाल सरकारले वास्तविक कुरा भन्नु प¥यो । यहाँ सुन्य समयमा धेरै कुराहरु राखिन्छ । तर त्यसको बारेमा केही जवाफ आउँछ ? माननीय सदस्यहरुले आफ्ना गम्भिर कुराहरु प्रस्तुत गर्नु हुन्छ । तर त्यसको उचित जवाफ कहिल्यै नआएको महसुस हामीले गरेका छौं । तसर्थ, त्यो लमही–घारोही–तुलसीपुर सडकको चार लेन बाटो तीन पटक म्याद थपेर पनि त्यो ९ दशमलव ९ प्रतिशत मात्रै त्यो बाटो निर्माण भएको छ । त्यसको बारेमा नेपाल सरकार अथवा सडक विभागले यसको जवाफ दिनुपर्छ भनेर माग गर्दछु ।’
सांसद गिरीले सरकारलाई संसदप्रति जवाफदेही हुन पनि पटक–पटक आग्रह गरे ।