काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु नहुने बताएका छन् । बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु नहुने बताएका हुन् ।
देशको प्रधानमन्त्री भएर कार्यकारी अधिकार प्रयोग गरिसकेका व्यक्तिहरुलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सार्नु उचित नहुने बताए । उनले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपति बन्ने आकांक्षा नराख्न पनि अनुरोध गरे । महामन्त्री शर्माले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने धारणा राखे ।
उनले भने – ‘मैले शेरबहादुर देउवालाई राष्ट्रपति बनाउँ भनेको हो । तर फेरि म साथीहरुको छलफलबाट के कुरामा सहमत छु भने देशको प्रधानमन्त्री भइसकेर, कार्यकारी अधिकारलाई प्रयोग गरीसकेका कुनैपनि पूर्वप्रधानमन्त्रीहरुले राष्ट्रपति बन्ने आकांक्षातर्फ जानु, अझ उहाँहरुलाई अगाडी सार्नु त्यति उचित नहोला भन्ने साथीभाईहरुको भावनासँग म एकदम सहमत छु । त्यसकारणले चाहे शेरबहादुर देउवा, चाहे माधवकुमार नेपाल, चाहे बाबुराम भट्टराई उहाँहरुले कार्यकारी अधिकार प्रयोग गरिसकेर देशको प्रधानमन्त्रीको नेतृत्व गरिरहनुभएको छ । त्यसकारण उहाँहरु समेतको सहभागिता र समर्थनमा रामचन्द्र पौडेल वा अन्य नेताहरुलाई अगाडी सारेर जानु बढी उचित हुन्छ ।’
महामन्त्री शर्माले प्रधानमन्त्री पदलाई सुनको बालासँग तुलना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई सुनको बाला देखाएको बताए । ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल र महन्थ ठाकुरलाई प्रधानमन्त्रीको पद देखाएर अल्मल्याउन खोजेको उनले बताए । राष्ट्रपति निर्वाचनको सन्दर्भमा काँग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एकठाउँमा आउनुपर्ने उनले बताए ।
उनले भने– ‘सुनको बाला देखाउने भनेर कमरेड केपी ओलीले काँग्रेसलाई भन्नुहुन्थ्यो । सुनको बाला निकैवटा छ कि क्या हो ? तपाईको बालकोटमा । कहिले उहाँ माधव कमरेडलाई देखाउनुहुन्छ । कहिले झलनाथ कमरेडलाई देखाउनुहुन्छ । कहिले महन्थ कमरेडलाई देखाउनुहुन्छ । उहाँको सुनको बालाको कुरामा अल्मल्लिनु अहिले हुँदैन । संसद विघटन गरेर प्रतिगमनतर्फ लम्किनुभएको थियो, त्यो सबै कोर्ष करेक्शन गराउने कुरामा माधव नेपाल, प्रचण्ड, शेरबहादुर देउवाको जुन भुमिका छ, त्यो भुमिका फेरिपनि एकठाउँमा आउनुपर्छ ।’
उनले पुरानो गठबन्धन ब्युँतिदा जनमतको कदर हुने बताए । संसदको दोस्रो ठूलो दलले सभामुख र तेस्रो ठुलो दलले प्रधानमन्त्रीको पद लिएको अवस्थामा संसदको पहिलो दल हुनुका नाताले काँग्रेसले राष्ट्रपतिको पद पाउनुपर्ने उनले बताए ।
उनले भने – ‘नेपाली काँग्रेस पार्टीले राष्ट्रपति पदमा राष्ट्रिय सहमति नै हुनुपर्छ भनेर हामीले अफिसियली भनेकै छैन । राष्ट्रपति पदमा हाम्रो उम्मेदवारी रहन्छ । र अहिलेको बेलामा नेपाली काँग्रेस पार्टीले सार्ने उम्मेदवारलाई अहिलेका गठबन्धनमा रहेको दलमध्येको माओवादी पार्टी जसको अध्यक्ष यो देशको प्रधानमन्त्री हुनुहुन्छ, उहाँले समेत समर्थन गरेर जाँदै गर्दा त्यसले केही सन्देश दिन्छ भन्ने कुरामा हामी प्रष्ट छौँ । पहिलो कुरो जनताको बीचमा जाँदै गर्दाखेरी नै जे वचनवद्धता राखिएको थियो हामी सँगसँगै जान्छौँ भनेर, त्यो जनमतको कदर हुन्छ । दोस्रो कुरा, संसदमा तेस्रो दलले देशको प्रधानमन्त्रीको जिम्मेवारी लिइरहेको छ । दोस्रो दलले संसदको सभामुखको जिम्मेवारी लिइरहेको छ भने पहिलो दलले देशको राष्ट्रपति लिने कुरा त्यो बढी स्वभाविक देखिन्छ । प्रधानमन्त्रीले सिंहदरबार, बालुवाटारबाट चलाउनुपर्छ भन्ने हो भने नेपाली काँग्रेस पार्टीको उम्मेदवारलाई समर्थन गरेर जानुपर्छ ।’