logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • विश्वकै सबैभन्दा ठूलो पदयात्रा तथा मिथिलाको महाकुम्भ

    विश्वकै सबैभन्दा ठूलो पदयात्रा तथा मिथिलाको महाकुम्भ

    1.4K
    Shares
    विश्वकै सबैभन्दा ठूलो पदयात्रा तथा मिथिलाको महाकुम्भ

    धनुषा । विश्वकै सबैभन्दा ठूलो पदयात्रा तथा मिथिलाको महाकुम्भ मानिएको १५ दिने माध्यमिकी परिक्रमा आज महोत्तरीमा आईपुगेको छ ।सोमबार धनुषाको मिथिला नगरपालिकाको कचुरी गाउँमा अवस्थित मिथिला विहारीको कुटीबाट मिथिला विहारी तथा जनकपुरस्थित अग्नि कुण्डका किशोरीजीको डोला (पालकी) का साथ धार्मिक विधि अनुसार जानकी मन्दिर हुँदै धार्मिक झाँकी भजनकीर्तनसहित शुरु भएको परिक्रमा मंगलबार भारतको सीमावर्ती गाउँ कलानेश्वरमा पुगेको थियो । बुधबार भारतकै गीरिजास्थानमा बास बस्दै आज तेश्रो दिन विश्रामका लागि महोत्तरीको मटिहानी नगरपालिका आईपुगेको हो ।

    बाजा, गाजा, साधु, नागा, सन्त, महात्माहरु नाचगानका साथ भगवान् राम र माता जानकीको डोला लिएर लाखौको सङ्ख्यामा यहाँ प्रवेश गरेको परिक्रमालाई स्थानीयबासी र महोत्तरी प्रशासनले पूजापाठ गरी स्वागत गरिएको थियो ।

    मटिहानीमा माता सीताको विवाहको बेला मटकोर विधि भएको सम्झनामा यहाँ परिक्रमाको तेश्रो पराव हुँदै आएको छ । यहाँ रहेको प्रसिद्ध लक्ष्मीनारायण मठ र लक्ष्मी सरोवरले प्राचिनकालको याद गराउँछ । परिक्रमामा सहभागी यात्रीका लागि यहाँस्थित लक्ष्मीनारायण मठले निःशुल्क भोजन, पानी, दाउरा, बिजुली तथा बासको व्यवस्था गरेको छ ।

    तेस्रो दिन महोत्तरीको मटिहानी पुगेको परिक्रमा क्रमशः चौथो दिन महोत्तरीको सदरमुकाम जलेश्वरमा, पाँचौ दिन मडैमा, छैठौँ दिन धु्रवकुण्डमा र सातौँ दिन कन्चनवनमा बास बसेर आठौँ दिन पुनः धुनषाको पर्वतामा बस्ने छन् ।

    त्यसपछि धनुषाधाम, औरही, करुणा, विशौल हुँदै पुनः भारतको कलानेश्वर र फागुन पुर्णिमाका दिन जनकपुर फर्कने छ् । नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतिकका रुपमा रहेको परिक्रमाका लागि नेपालतर्फ ११ र भारततर्फ चार गरी १५ विश्रामस्थल बनाइएका छन् ।

    मिथिला महात्म्यमा यी विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनमा अटुट आस्था रहेको पाइन्छ । मिथिला महात्म्य अनुसार १८ औँ शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाउँदै आइएको हो । यस यात्राका क्रममा नेपालका एकसय सात एवं भारतको २६ गरी एकसय ३३ किलोमिटर पैदल यात्रा गर्ने परम्परा छ । जुन यात्रा सबैभन्दा ठूलो पद यात्रा पनि मानिन्छ ।

    यस परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभङ्गा, सितामढी, बैजनाथधामका साधुको उल्लेख्य सहभागिता छ । फागुन शुक्ल प्रतिपदाका दिन शुभसाइत गरी प्रारम्भ हुने यो धर्मयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागुन पुर्णिमाका दिन समापन गरिन्छ ।

    परिक्रमामा सहभागी हुनाले मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।

    विश्वकै लामो समयसम्म चल्ने धार्मिक यात्रा परिक्रमाका यात्रुहरु भारतको कलना, फुलहर, करुणा, विशौल, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन हुदैं धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरहीमा एक÷एक रात विश्राम गरि पूर्णिमाको अघिल्लो रात जनकपुर आइपुग्छन र पूर्णिमाका दिन बिहान जनकपुरको अन्तगृह परिक्रमा गरि होली खेलेर १५ दिवसीय यात्रा समापन गरिन्छ । यस यात्रामा सहभागी भएमा सुख, समृद्धि, मानसिक शान्ति तथा चारधामको दर्शन गरे बराबरको फल प्राप्ती हुने विश्वास गरिन्छ ।

    प्राचिन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा निमार्ण गरिएका कल्याणेश्वर, जलेश्वर, क्षिरेश्वर र सप्तेश्वर शिवालयलाई आधार मानेर यो परिक्रमा यात्रा शुरु गरिएको हो ।मिथिलाको महाकुम्भ समेत नामाकरण गरिएको यस परिक्रमामा नेपाल–भारतका हजारौं साधुसन्त महन्थ र गृहस्थहरुको सहभागिता छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend