logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • युक्रेनबाट निःशर्त रुसी सेना फिर्ता गर्न राष्ट्रसङ्घको अनुरोध

    युक्रेनबाट निःशर्त रुसी सेना फिर्ता गर्न राष्ट्रसङ्घको अनुरोध

    994
    Shares
    युक्रेनबाट निःशर्त रुसी सेना फिर्ता गर्न राष्ट्रसङ्घको अनुरोध

    एजेन्सी । युक्रेनबाट आफ्ना सेना निःशर्त फिर्ता गर्न आह्वान गर्दै संयुक्त राष्ट्रसङ्घले समग्रतामा युक्रेनको न्यायपूर्ण र दिगो शान्तिका पक्षमा मतदान गरेको छ । राष्ट्रसङ्घीय महासभामा प्रस्तुत शान्ति प्रस्तावको पक्षमा एक सय ४१ देशले मतदान गरेर युक्रेनप्रतिको आफ्नो समर्थन जनाएका छन् ।

    एक सय ९३ सदस्यीय संयुक्त राष्ट्रसङ्घमा युक्रेनको विपक्षमा रुस, बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र मालीले मतदान गरेका छन् भने चीन र भारतसहित ३२ देश मतदानमा सहभागी भएनन् । युक्रेनलाई प्राप्त यो समर्थन बाध्यकारी भने होइन । गत अक्टोबरमा रुसले युक्रेनका चार क्षेत्रलाई गाभेको घोषणाको निन्दा गर्न भएको मतदानमा एक सय ४३ देशले भाग लिएका थिए । अर्थात् ती देश युक्रेनको पक्षमा उभिएका थिए ।

    युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले राष्ट्रसङ्घीय महासभाको मतपरिणामले अन्तर्राष्ट्रिय समुदाय युक्रेनको पक्षमा रहेको स्पष्ट भएको बताउनुभएको छ भने अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मतदानबाट युक्रेनमा संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तअनुरूप युक्रेनको ‘व्यापक, न्यायपूर्ण र दिगो शान्तिको लागि शक्तिशाली आह्वान’ भएको टिप्पणी गरेका छन् ।

    युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले अन्तरराष्ट्रिय समुदायबाट प्राप्त साथ र समर्थनप्रति आभार व्यक्त गर्दै ‘ग्लोबल’ साउथ युक्रेनको पक्षमा उभिदैन भन्ने तर्कलाई प्राप्त मतले अस्वीकार गरेको बताए । उनले सत्य कसको पक्षमा छ भन्ने तथ्य पनि अन्तरराष्ट्रिय समुदायले बुझेको बताए ।

    महासभामा भारी मतबाट पारित भएको शान्ति प्रस्तावले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रतिको समर्थनलाई पुनः पुष्टि भएको छ भने रुसले कब्जा गरेको युक्रेनी भूभागमा रुसको दाबी अस्वीकृत भएको छ । मतदानले एक वर्षको युद्धपछि विश्व मञ्चमा मस्को निरन्तर एक्लिएको प्रमाणित गरेको छ भने उसलाई तत्काल बिना शर्त आफ्ना सबै सैन्य बल युक्रेनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिमानाबाट फिर्ताका साथै शत्रुता समाप्त गर्न नैतिक दवाव दिएको छ ।

    आफूलाई प्राप्त सीमित समर्थनलाई ख्याल नगरी रुसले सुरक्षा परिषद्मा आफू विरुद्धका बाध्यकारी प्रस्ताव रोक्न आफ्नो भिटो शक्ति प्रयोग गरेको छ । उसले भिटो प्रयोग गरे पनि महासभाले युक्रेन मुद्दालाई उठाएर किएभप्रति विश्वसमर्थन जुटाएको छ ।

    जापानका विदशमन्त्री योशिमासा हयाशीले मूर्खतापूर्ण आक्रमक युद्धको दोस्रो वार्षिकी फेरि भेट्न नहुने बताउँदै रुसले तत्काल युद्ध अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् भने फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनले आजै रुसले युद्ध अन्त्य गर्नुपर्ने माग गरेका छन् । उनले रुसले थालेको युद्धले राज्यको अस्तित्वलाई जोखिममा पारेको तथा साम्राज्यवादी योजनाको प्रतिनिधित्व गरेकाले त्यो अस्वीकृत भएको बताए ।

    रुसले पारित प्रस्ताव खारेज गर्दै युक्रेनलाई नवनाजीको संज्ञा दिए । संयुक्त राष्ट्रसङ्घका लागि रुसका स्थायी प्रतिनिधि भासिली नेबेन्ज्याले पश्चिमा राष्ट्रहरूले रुसलाई हराउने उद्देश्यका साथ काम गरिरहेको आरोप लगाए । उनीहरू सम्पूर्ण विश्वलाई युद्धको खाडलमा डुबाएर आफ्नो आधिपत्य कायम गर्न उद्यत रहेका बताए ।

    मतदानमा भाग नलिएका भारत र चीनले युक्रेनमा रुसी आक्रमणको निन्दा नगरे पनि मस्कोले दिएको आणविक हतियारको धम्कीको विरोध गरेका छन् । मतदान अघि राष्ट्रसङ्घका लागि चीनका उपप्रतिनिधि डाई विङले तटस्थताको अडान लिएर दुवै पक्षलाई युद्ध अन्त्य गर्न र शान्ति वार्ता थाल्न आह्वान गरे । उनले रुस र युक्रेनबीच तत्काल प्रत्यक्ष शान्तिवार्ता हुनुपर्नेमा जोड दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend