काठमाडौं । नेपाली काँग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति बनेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य रहेको बताएका छन् । बिहीवार राष्ट्रपति निर्वाचनका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संविधानको अक्षरशः भावनालाई इमान्दारितापूर्वक पालना गर्नेकुरामा आफूलाई समर्पित गर्ने प्रतिवद्धता जनाए । उम्मेदवार पौडेलले गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरामा आफू सचेत रहेकाले सोही अनुसारको व्यवहार हुने बताए । उनले आफू सबैको माया पाएर राष्ट्रपति बन्ने बताए ।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य हो मेरो । संविधानको अक्षरशः भावनालाई इमान्दारितापूर्वक पालना गर्नेकुरामा आफूलाई समर्पित गर्छु । गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरा म सचेत छु । सबैले माया गरेका छन्, सबैको विश्वासमा रहनेछु ।’
उम्मेदवार पौडेलले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान नगरेर आफ्नै सहयोग गरेको बताए ।