काठमाडौं । टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’को प्रशारण आज (शुक्रवार) बाट शुरु हुने भएको छ । बिहीवार काठमाडौैंमा एक कार्यक्रमबीच भ्वाइस किड्सको प्रिमियर शो गर्दै यस बारेमा जानकारी गराइएको हो ।
६ देखि १४ वर्षसम्मका बालबालिकाहरूको सहभागिता रहने शो प्रशारणको पूर्वसन्ध्यामा बिहीवार बेलुका पहिलो एपिसोडको ग्राण्ड प्रिमियर गरिएको थियो । प्रिमियरमा कोच प्रमोद खरेल, निर्देशक लक्ष्मण पौडेल र प्रश्तोता सुशील नेपाल उपस्थित थिए । डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगी बालबालिकाबाट छानिएका ६५ मध्ये ६ जना प्रतियोगीहरुले पहिलो एपिसोडमा कोचको सामना गर्नुभएको थियो । शुरुवाती केही एपिसोड ब्लाइन्ड अडिसनको हुनेछ ।
ग्राण्ड प्रिमियर शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गायक प्रमोद खरेलले गिलो माटोलाई आकार दिन सकेझैँ साना बालबालिकाहरुलाई गायन क्षेत्रमा अब्बल बनाउन यो शो महत्वपूर्ण रहेको बताए । उनले बालबालिकाहरुले सबै जनेराको गीत गाउने गरेको भन्दै बालबालिकाहरुमा सबै गर्नसक्ने प्रतिभा रहेको बताए । उनले आफ्नो समूहले जित्ने भन्दा पनि राम्रो प्रतिभा ल्याउनुपर्छ भन्ने धारणा रहेको बताए ।
द भ्वाइस किड्स सिजन २ हरेक शुक्रवार र शनिवार राति ८ बजे हिमालयन टेलिभिजनबाट प्रशारण हुनेछ ।