काठमाडौं । नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गठबन्धनको सहमति कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्नु नहुने बताएका छन् । नेता रिजालले नवनिर्वाचित राष्ट्रपति पौडेलले संविधानभन्दा बाहिर गएर गठबन्धन राजनीतिको साक्षिको रुपमा काम नगर्ने स्पष्ट पारेका हुन् ।
उनले राष्ट्रपतिले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम नगर्ने पनि स्पष्ट पारे । शुक्रवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले गठबन्धनमा भएका शर्तहरुको जिम्मा राष्ट्रपतिले लिएर सोही अनुसार भुमिका गर्नुपर्छ भन्ने नसोच्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिए । गठबन्धनका बीचमा भएको शर्तहरु कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रपतिको नभएको उनको भनाई छ । नेता रिजालले गठबन्धनका बिचमा भएका सहमति कार्यान्वयन पार्टीले गर्ने र त्यसका लागि नेपाली काँग्रेस इमान्दार हुने बताए ।
उनले भने – ‘हतार हतारमा पुरानो गठबन्धन छोडेर प्रधानमन्त्री बन्नका लागि नयाँ गठबन्धन प्रचण्डजीले बनाउँदाखेरी अब त्यो गठबन्धनको मुल कार्यभारलाई बोक्ने व्यक्ति मात्रै राष्ट्रपति हुनुपर्छ भन्ने भाव रह्यो । त्यस्तो राष्ट्रपति बन्यो भने प्रधानमन्त्रीले संविधानले दिएको भुमिका गर्न सक्दैन भन्ने प्रचण्डजीको मनमा संशय पनि, त्रास पनि पैदा भयो । त्यो संशय र त्रासबाट उहाँले अर्को राजनीतिक गठबन्धन खोजि गर्नुभयो । पुरानो गठबन्धन बाट फिर्ता हुने कोशिस गर्नुभयो । काँग्रेसलाई पनि त्यत्रो क्षतिबाट निस्किन, उम्किनलाई, न्युनिकरण गर्नका लागि नयाँ बाटोको खोजि गर्नुपर्ने हुन्थ्यो । दुईवटै स्वार्थ मिल्यो । हाम्रो पार्टीको पनि उहाँसँग स्वार्थ मिल्यो । त्यसअर्थमा उहाँलाई हामीले समर्थन ग¥यौँ । उहाँको समर्थनबाट रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित हुनुभएको छ । तर हामी सबैले बुझ्नुपर्ने कुरा के हो भन्दा रामचन्द्र पौडेलले संविधानभन्दा बाहिर गएर यो गठबन्धनको राजनीतिको साक्षिको रुपमा, यो गठबन्धनको सहमतीलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्नुहुन्न । ६० वर्षभन्दा लामो राजनीति गरेको व्यक्तिले संविधानभन्दा बाहिर गएर जीवनको यो समयमा गर्नुहुन्छ भन्ने मलाई लाग्दैन । त्यसो उहाँले गर्नुहुने छैन । तर एउटा कुरा प्रधानमन्त्रीजीलाई मेरो सुझाव छ, प्रधानमन्त्रीले उहाँलाई अब यो गठबन्धनका बीचमा भएका शर्तहरुलाई जिम्मा लिएर उहाँले राष्ट्रपतिको भुमिका गर्नुपर्छ भन्ने सोच्नुभयो भने त्यो भुमिका उहाँले गर्ने होइन । त्यो भुमिका पार्टीले गर्छ । पार्टीको सभापतिले गर्नुहुन्छ । नेपाली काँग्रेस पार्टीले गर्छ । त्यो भुमिकामा नेपाली काँग्रेस इमान्दार भएर बस्नुपर्छ भन्ने लाग्छ मलाई । त्यो भुमिकामा काँग्रेस इमान्दार हुन्छ ।’
उनले राष्ट्रपति पौडेल गठबन्धनको परिधि भित्र नबस्ने बताए । पौडेल आफ्नो पूर्व पार्टी नेपाली काँग्रेसको परिधिभित्र पनि नबस्ने स्पष्ट पारे । संविधानको परिधिभित्र बस्ने र संविधानको भावनाभन्दा बाहिर गएर कुनै भुमिका नखेल्ने उहाँले विश्वास व्यक्त गरे ।
उनले भने– ‘सुयोग्य व्यक्ति राष्ट्रपतिका लागि निर्वाचित हुनुभएको छ । यो संविधानलाई पूर्ण रुपमा आत्मसात गरेको मान्छे । यो संविधानभन्दा बाहिर रत्ति पनि विचार नराख्ने मान्छे समकालिन राजनीतिमा अरु कोही देखेको छैन । रामचन्द्र पौडेलजति संविधानकाप्रति प्रतिवद्ध कुनैपनि पार्टीमा अर्को नेता देखेको छैन । रामचन्द्र पौडेलले संविधानको भावनाभन्दा बाहिर गएर राष्ट्रपतिको भुमिका गर्नुहोला भन्ने मलाई लाग्दैन । संविधानले परिकल्पना गरेको राष्ट्रपतिको भुमिका भन्दा बाहिर जानुहुन्न भन्ने विश्वास गर्ने बलियो आधार छ । उहाँको पुरानो पार्टी नेपाली काँग्रेसको परिधिभित्र पनि उहाँ बस्नुहुन्न । अहिलेको गठबन्धनको परिधिभित्र पनि बस्नुहुन्न । उहाँले बस्ने परिधि भनेको नेपालको संविधानले देखाएको परिधि मात्रै हो ।’