logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • बालगृहहरूमा महानगरको अनुगमन, मापदण्ड पुर्‍याउन निर्देशन

    बालगृहहरूमा महानगरको अनुगमन, मापदण्ड पुर्‍याउन निर्देशन

    1.4K
    Shares
    बालगृहहरूमा महानगरको अनुगमन, मापदण्ड पुर्‍याउन निर्देशन

    चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाहरूको अनुगमन गरेको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीको सयोजकत्वमा अनुगमनमा गएको टोलीले सञ्चालनमा रहेका तर अनुमति नपाएका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाको स्थलगत अनुगमन गरेको हो ।

    भरतपुर–८ मा रहेको एसओएस बालग्राम नेपाल भरतपुर–१२ मा रहेको मुक्ति बालगृह तथा ज्योति बालगृह र भरतपुर–१५ फूलबारीमा रहेकोे सामाजिक तथा वातावरणीय अनुसन्धान संस्था नेपालको स्थलगत अनुगमन गरिएको उपप्रमुख अधिकारीले बताए । उनले बालगृह सञ्चालकलाई मापदण्ड पुर्‍याएरमात्रै बालगृह सञ्चालन गर्न निर्देशन दिइएको जानकारी गराए । “कुनै पनि बालगृह बिनामापदण्ड सञ्चालन गरेको पाइएमा महानगरले कारबाही गर्न पछाडि पर्दैन”, उनले भने, “समयमै सुध्रिएर आउन पनि म सबैमा आग्रह गर्छु ।”

    कुनै पनि समय संस्थाको अनुगमनमा आफूहरू आउन सक्ने भन्दै उनले त्यतिबेला मापदण्डअनुसार सञ्चालन गरेको नपाइए कडा कारबाही हुने बताए । बालगृह सञ्चालन गर्न भौतिक संरचना, खानपान, सरसफाइ, खेलमैदान, स्वास्थ्य परीक्षणलगायतका मापदण्ड पूरा गरेको हुनुपर्छ । भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले सञ्चालनमा रहेका सबै बालगृहमा निरन्तर अनुगमनको खाँचो रहेको प्रष्ट पारे । “हामीले बालगृहहरूको निरन्तर अनुगमन गरिरहेका छौँ, छड्के अनुगमन गर्दा कमी–कमजोरी पाइएमा कामकारबाही हुन्छ”, अधिकृत रानाले भने ।

    स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले महानगरभित्र अहिले २३ वटा बालगृह सञ्चालनमा रहेको बताइन् । पौडेलका अनुसार २३ वटा बालगृहमा संरक्षित बालबालिकाको सङ्ख्या छ सय ७८ रहेको छ ।

    राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार काठमाडौँपछि भरतपुरमा सबैभन्दा बढी बालगृह सञ्चालनमा छन् । परिषद्का सदस्यसचिव इन्द्रादेवी ढकालले चितवनका बालगृह उत्कृष्ट श्रेणीमा पर्ने गरेको बताइन् । चितवनमा केन्द्रको निरन्तर निगरानी भइरहेको भन्दै उनले सङ्घीय र प्रदेश सरकारको सहयोगमा स्थानीय सरकारले बालगृहको अनुगमन तथा रेखदेख गरिरहेको जानकारी दिइन् । यसअघि गत असारमा भरतपुर महानगरपालिकाले पश्चिम चितवनका विभिन्न बालगृहको अनुगमन तथा निरीक्षण गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend