दार्चुला । चैत महिनामा हुड्को बजाउँदै सुमधुर स्वरमा चैतलो गाउने र गाउँघरका सबै जम्मा भएर सुन्ने मौलिक परम्परा क्रमशः हिजोआज लोप हुन थालेको छ ।
पुर्खाको पालादेखि चैत महिनामा हुड्कौली नाचसँगै चैतलो सुन्ने, सुनाउने चलन पछिल्लो समय बढ्दो आधुनिकतासँगै लोप हुन थालेको शैल्यशिखर–६ का अध्यक्ष जगदीश धामीले बताए । केही वर्ष पहिलेसम्म चैत महिनाभरि दार्चुला जिल्लाको धेरैजसो गाउँघर परम्परागत चैतलोको धुनले गुञ्जायमान भइरहन्थ्यो तर हिजो आज चैतलो र हुड्केली नृत्य लोप हुँदै गएको छ ।
सुदूरपश्चिममा चैतको महिनामा छोरी चेली भेट्ने चलन रहेको छ । चैतलोको धुनमा देवीदेवताका गाथासँगै चैतमा बहिनीले दाजु भेट्न आउने मार्मिक गीत गाएर चैतलो पर्व मनाउने परम्परा रहेको छ । परम्परागत संस्कृतिको विविध विधालाई लयबद्ध गरेर गाइने यो पर्व अहिले लोप हुँदै गएको स्थानीय जानकार बताउँछन् । नयाँ पुस्ताले यसबारेमा चासो नदिँदा अर्थात् घरघरमा गएर गाउन अप्ठ्यारो मान्ने भएका कारण गाउने पेसा लोप हुन थालेको चैतलो गाउने देवराम दमाईंको भनाइ छ ।
अहिले चैतलो कहीँकतै सुन्न सकिए पनि चैतलोमा गाइने परम्परागत गीत तथा कथा भाव लोप हुन थालेको मालिकार्जुन–३ का स्थानीय इन्द्रसिंह धामीले बताए। दार्चुलामा अधिकांश वादी समुदायले चैतलो गाउने गर्दछन् । चैत महिनाभरि गाउँगाउँ पुगेर चैतलो गाउदै हुड्केली नाच गरेर अन्न तथा पैसा माग्ने चलन रहेको भए पनि पछिल्लो पुस्ताले चासो नदेखाउँदा पेसा र संस्कृति लोप हुने चिन्ता रहेको महेश वादी बताउँछन् ।
उनी भन्छन्, ‘चैत महिनाभरि गाएर हामीलाई कम्तीमा पनि पाँच/छ महिनासम्म खान पुग्थ्यो, तर हाम्रा छोराछोरीले चासो नदेखाउँदा पेसा लोप हुने चिन्ता छ ।’ दार्चुला तथा सुदूरपश्चिममा चैत महिनामा गाउँगाउँ घुमेर दमाई तथा वादी समुदायले चैतलो गाउने चलन छ ।
भारतको उत्तराखण्ड क्षेत्रमा समेत चैत महिनामा वसन्त ऋतुको बखान, दाजुभाइले दिदीबहिनीलाई भेट्ने चलन र ऐतिहासिक घटनाक्रमका बारेमा गीत गाएर सुनाउने परम्परालाई चैतलो भन्ने गरिन्छ । जसको घरमा चैतलो गाइयो उसले दक्षिणा स्वरुप अन्न, रुपैयाँ र अन्य वस्तु चैतलो सुनाउनेलाई दिनुपर्ने हुन्छ । यसलाई जातीयरुपमा पनि हेरिएका कारण लोप हुन थालेको लेकम–४ का गोविन्दसिंह धामी बताउँछन् ।
चैतलोको सांस्कृतिक र ऐतिहासिक पक्षको महत्व पछिल्लो पुस्ताले बुझ्न नसक्दा चैतलो लोप हुने अवस्थामा पुगेको स्थानीय संस्कृतिविद् देवराज विष्टको भनाइ छ । उनका अनुसार चैतलोमा विशेष गरेर कालीनाग र उसकी पत्नीसँग जोडिएको कथा सुनाउने गरिन्छ ।
परापूर्वकालमा रानादेउ नामका राजाकी छोरीको विवाह कालीनागसँग गरिएको र कालीनागको डरले छोरीलाई भेट्न माइतबाट कोही जान नसक्ने तर उनलाई माइतीको धैरे याद आउने कुरा समेटेर गाइने परम्परा रहेको जानकार गङ्गादत्त जोशीले बताए।
रानादेउका छोरा साधुवालाले आफ्नी दिदीका बारेमा थाहा नपाउँदा साथीले बिनादिदीबहिनीको भाइ भनेर जिस्क्याउँदा सहनुपरेको पीडा पनि चैतलोमा गीतमार्फत वर्णन गर्ने गरिएको छ । विशेष इतिहासका रुपमा रहेको चैतलो र हुड्कौली नाच जोगाउन कसैले ध्यान नदिँदा चैतलोमा समेटिएको इतिहास लोप हुँदै गएको छ । सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण चैतलो र हुड्केली नृत्य जोगाउन स्थानीय तहलेसमेत ध्यान दिनु आवश्यक रहेको स्थानीय संस्कृतिविद् बताउँछन् ।