महोत्तरी । महोत्तरीको उत्तरी क्षेत्रमा गरिएको व्यावसायिक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन् । आँप खेतीमा ढुसी लाग्न थालेकाले जिल्लाका किसान चिन्तित बनेका हुन् ।
आँपको पात नै नदेखिने गरी बोटै ढपक्क ढाँकेर फुल्दा खुशी भइएकामा अहिले मजुराफूलमा मधुवा किराका कारण ढुसी लाग्न थालेकाले चिन्ता बढेको हरिवन नगरपालिका-२ का किसान रामपुकार महतोले बताए ।
उनका अनुसार मधुवा कीराले खाएर गुलियो लेसिलो पदार्थ आँपको मजुराफूलमा ओकलेपछि मजुराफूलमा ढुसी लागेर झर्ने र दाना नलाग्ने समस्या बढ्न थालेको हो । ‘पहाडमा लालीगुराँस फुलेझै आँपमा ढकमक्क मजुराफूल फूलेको देख्दा मन रमाएको थियो तर मजुराफूलमा ढुसीको प्रकोप देखिएपछि आशा निराशामा बदलिएको छ।’ उनले भने।
हरिवन नगरपालिका-३ डाबरीका विनय आलेले पनि आफ्नो दसकठ्ठा जमिनमा लगाएको आँपका बोटमा मधुवा कीराको प्रकोप देखिएको बताए । उनले मधुवाका कारण मजुराफूल झरेर दाना नलागेकाले यसवर्ष आर्थिक समस्यामा परिने हो कि चिन्ताले पिरोलिरहेको बताए ।
ईश्वरपुर नगरपालिका-७ का रामखेवन महतोको आँप बगैँचामा पनि मधुवाको प्रकोप देखिएको छ । फागुन महिनाको अन्तिम सातादेखि मजुराफूलमा मधुवा कीराको प्रकोप देखिएकामा अहिले ढुसी देखिन थालेको उनको भनाइ थियो ।
लालबन्दी नगरपालिका–१ स्थित बागबानी केन्द्रमा रहेको एक सय २० बिघा जमिनमा रहेका करिब छ हजार आँपका रुख सुरक्षित र स्वस्थ रहेको केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले बताए । उनका अनुसार रोगका किरा र ढुसी लाग्न नदिन सुरुमै किराको प्रकोप नियन्त्रणको उपाय अपनाइएका कारण केन्द्रका आँपका रुख सुरक्षित रहेका हुन् ।
मजुराफूल फुल्नुअघि आँपको रुखको जरा वरिपरी खनेर पानी हाल्ने र फेददेखि ३ फिट माथिसम्मको भागमा चुन दल्ने प्राकृतिक उपचारले पनि मधुवा कीराको प्रकोप रोक्न सकिने कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले बताए ।
उनले भने, ‘जिल्लाका प्रायः अधिकांश किसानले प्राविधिक ज्ञान विना नै विषादी प्रयोग गर्छन्, जुन पसलबाट विषादी ल्याएको हो, त्यही पसलेको सल्लाह अनुसार विषादी प्रयोग गर्दा कहिलेकाहीँ फल झर्ने र फूल डढ्नेजस्ता समस्यासमेत देखिने गर्छ ।’ प्रमुख कुशवाहले बताए ।
मधुवा किराको प्रकोप देखापरेपछि विषादीबाहेक अर्को विकल्प नरहेकाले पीडित किसानले प्रक्रिया पुर्याइ कार्यालयमा आएमा औषधि एवम् प्राविधिक सहयोग उपलब्ध गराइने उक्त केन्द्रले जनाएको छ ।
जिल्लाको बलरा, हथिऔल, ईश्वरपुर तथा चुरेपर्वतीय भावर क्षेत्रको करिब आठ हजार हेक्टरभन्दा बढी जग्गामा व्यावसायिकरूपमा आँपखेती हुने गरेकामा ईश्वरपुर, लालबन्दी, हरिवन र बाग्मतीलगायत क्षेत्रमा भने मधुवा किराको प्रकोप देखिएको हो ।