काठमाडाैँ । नेपालमा रङ्गमञ्चको आफ्नै महत्व र आवश्यकता छ । रङ्कर्मीको रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका छन् । यद्दपि रङ्गमञ्च भने अहिले पनि अभिनय सिक्ने मञ्चको रूपमा मात्र चिनिन्छ ।
चलचित्रमा सशक्त अभिनय गर्नुपर्ने भूमिका हुँदा प्रायः नाटकमा अभिनय गर्ने नाट्यकर्मी खोजिन्छ । तर, रङ्गमञ्चले चाहे जस्तो प्रगती गर्न नसकेको बेलाबखतमा सुन्ने गरिन्छ । समूहवाद हाबी हुँदा नेपालको रङ्गमञ्च पछाडि परेको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले बताइन् ।
६२औँ ‘विश्व रङ्गमञ्च दिवस’को अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको परिसरमा आयोजित कार्यक्रममा कुलपति शर्माले भनिन्, ‘कार्यक्रममा निम्ता गरिएका सबै रङ्गकर्मीको उपस्थिति हुँदैन । यो कार्यक्रममा पनि छैनन् । यसको कारण हामी समूहमा बाँडिएका छौँ भन्ने लाग्छ ।’ सबैलाई एकै ठाउँमा भेटघाट गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् ।
माला आर्टस् एकेडेमीको सहकार्यमा भएको उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, उपकुलपति शम्भु राई, प्राध्यापक तथा लेखक अभि सुवेदी, वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा मन्त्री किरातीले रङ्गमञ्चले मनोरञ्जन दिने मात्र नभइ समाज र जीवन परिवर्तन गर्ने बताए ।
‘कला जीवनको महत्वपूर्ण पक्ष हो । यसले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले यसले समाज बदल्न भूमिका खेल्ने गरेको छ’, मन्त्री किरातीले भने । रङ्गमञ्च दिवसको अवसर पारेर रङ्गकर्मीले विभिन्न कार्यक्रमको आयोजना गरेका थिए ।