मंसिर 8 काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघले आइतबार चितवनमा आयोजना गरेको सांसदसँग संवाद कार्यक्रममा उनले सरकार, विपक्षी, अन्य दल र आम नेपालीले सीमाका विषयमा एउटै आवाज बनाउनुपर्ने बताए ।
सार्वभौमसत्ता र जमीन दिने कुरामा नेपालीले कदापि सम्झौता नगर्ने भन्दै उनले यस विषयमा एकले अर्कोलाई आरोप प्रत्यारोप गर्न नहुने बताए । उनले भने सीमा सबै मिलेर रक्षा गरौँ देशको भूभाग गुमोस् भन्ने कसैले पनि चाहँदैन । एक ठाउँमा उभिएर कस्सिएर वार्ता गर्नुपर्ने भन्दै उनले भने ठूलो आवाज भयो भने आज नपाइएला एउटा विन्दुमा गएर सहमति नखोजी धर पाउँदैन । सरकारले प्रयासको थालनी गरेको भन्दै यसअघि कतिपय सरकारले आपत्तिसमेत जनाउन नसकेको उनले बताए ।
सरकारका कामका सन्दर्भमा उनले घोषणापत्र आफैँमा महत्वकाङ्क्षी भएकाले पूरा गर्न कठिन हुने बताए । आफ्नो पार्टीले घोषणा पत्र बनाउँदा यथार्थ धरातलमा नलेखेका कारण ५०/६० प्रतिशतभन्दा बढी पूरा गर्न कठिन हुने जानकारी दिए ।