मंसिर २२ काठमाडौं भारतको राजधानी नयाँदिल्लीको एक कारखानामा भएको आगलागीमा ३ दर्जन बढीको मृत्यु भएको छ । आगलागीमा परि सख्त घाइतेहरुको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
उद्योगमा काम गर्ने मजदुरहरु सुतिरहेका बेला चार पाँच तले भवनमा आगलागी भएको थियो। खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको भारतीय प्रहरीले जनाएको छ। अग्नि नियन्त्रकहरुले आगलागी नियन्त्रण गर्न निकै कठिनाई भएको बताएका छन् । आगलागी भएको भवनमा स्कुले विद्यार्थीका झोला र प्याकेजिङ गर्ने सामग्री राखिएका थिए ।
उद्धारकर्ताहरुले आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको र अनुसन्धान भइरहेको जनाएका छन् । उद्धार गरिएका सबैलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।