काठमाडौँ । काठमडौँमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूह ‘बी’ को खेलमा बहराइनले सिंगापुरलाई २८७ रनको लक्ष्य दिएको छ ।
टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २८६ रन बनाएपछि सिंगापुरले ठूलो चुनौती पाएको हो । बहराइनका लागि फियाज अहमदले ५९ बलमा ९ चौका र एक छक्का प्रहार गर्दै ७९ रन बनाए । त्यस्तै, शाहबाज बादरले ९८ बलमा आठ चौका र एक छक्का प्रहार गर्दै ७६ रन बनाए ।
साहिल अहमदले ४६, कप्तान हैदर बुटले २९ र मोहम्मद युनिसले २३ रन बनाए । बलिङतर्फ सिंगापुरका रमेश कलिमुथु, थिलिपन ओमाइदुराई र विनोथ बास्करणले समान २–२ विकेट लिए ।
सिंगापुर पहिलो जितको खोजिमा छ । सिंगापुरले यसअघि आफ्नो पहिलो खेलमा हङकङसँग हार ब्यहोरेको थियो । यता, बहराइन भने पहिलो जित निकाल्ने लक्ष्यमा छ ।
त्यस्तै, मूलपानी क्रिकेट मैदानमा भएको समूह ‘ए’ को खेलमा साउदी अरबले मलेसियालाई १५४ रनको सामान्य लक्ष्य दिएको छ ।