धनगढी। कैलालीमा लागुऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका र धनगढी उपमहानगरपालिकाबाट खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भजनी नगरपालिका–३ को कुसुमघाटबाट घोडाघोडी नगरपालिका–३ बस्ने २४ वर्षीय अंकित चौधरी र आरयन चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए ।
उनीहरु सवार सुपप्र ०१–०१० प.५२३१ नम्बरको मोटरसाइल चेकजाँच गर्ने क्रममा ३१ ग्राम ७ सय मिलीग्राम लागुऔषध खैरो हेरोईन बरामद गरिएको चन्दले बताए ।
धनगढी उपमहानगरपालिका–१ त्रिवेणी चोकबाट सोही ठाउँका २१ वर्षीय विवेक नेपालीलाई पनि पक्राउ गरिएको छ ।
उनीहरुको साथबाट एक ग्राम ३०० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको छ । तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।