logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आन्दोलन चर्किँदै गर्दा नागरिकता कानूनको समर्थनमा भारतका ११ सय बुद्धिजीविको खुला पत्र

    आन्दोलन चर्किँदै गर्दा नागरिकता कानूनको समर्थनमा भारतका ११ सय बुद्धिजीविको खुला पत्र

    2.7K
    Shares

    भारतमा नागरिकता संशोधन कानून (सिएए) को विरोधमा देशव्यापी रुपमा प्रदर्शन भइरहेको छ। प्रदर्शन हिंसात्मक बनेका छन् । प्रहरीको दमनको चौतर्फी आलोचना भइरहेको छ । प्रहरीको गोली लागेर कम्तिमा १५ जनाको ज्यान गएको छ । तर एक समूह भने सिएएको समर्थनमा उत्रिएको छ । भारतका झण्डै ११ सय बुद्धिजीवि, शिक्षाविद् र अनुसन्धानकर्ताहरुले सिएएको समर्थनमा एउटा साझा पत्र जारी गरेका छन् ।

    साझा पत्रमा लेखिएको छ, ‘नयाँ कानून पाकिस्तान, अफगानिस्तान र बंगलादेशमा उत्पीडनको सामना गरिरहेका अल्पसंख्यकलाई शरण दिने लामो समयको मागलाई पूरा गर्ने खालको छ ।’ उनीहरुले पत्रमा लेखेका छन्, ‘सन् १९५० मा लियाकत–नेहरु समम्झौताको असफलताप्रति विभिन्न नेता र राजनीतिक दलहरु जस्तै कांग्रेस, सिपिआई (एम) सहितले वैचारिक विभेदलाई बिर्सिएर पाकिस्तान र बंगलादेशका धार्मिक अल्पसंख्यकलाई नागरिकता दिन माग गरेका थिए । उत्पीडन सहनेमा अधिकांश दलित समुदायका छन् ।’

    उत्पीडनमा परेका तथा समस्यामा रहेका अल्पसंख्यकहरुको साथमा उभिने कानून ल्याएकोमा भारतीय संसद तथा सरकारलाई बधाई दिने पनि उनीहरुले पत्रमा लेखेका छन् । पूर्वोत्तर राज्यको समस्या समाधान गर्ने दिशामा नयाँ कानून ल्याएको पनि उनीहरुले दाबी गरेका छन् । सिएए पूर्ण रुपमा संविधान अनुरुप रहेको उनीहरुले दाबी गरेका छन् । धर्मनिरपेक्षता संवैधानिक व्यवस्थामा सिएएले कुनै आँच नल्याउने दाबी पत्रमा गरिएको छ ।

    पत्रमा लेखिएको छ, ‘हडबडमा देशमा डरको अवस्था सिर्जना गर्ने ध्येयले जानजानी उन्मादको माहोल बनाइएको छ, जसका कारण धेरै ठाउँमा हिंसा भएको छ ।’ यो संयुक्त पत्रमा हस्ताक्षर गर्नेहरुमा राज्यसभाका सांसद स्वपद दासगुप्ता, आइआइएम शिलोङ्गका प्रमुख शिशिर बजोरिया, नालंदा विश्वविद्यालयका कुलपति सुनैना सिंह, जवाहरलाल नेहरु विश्वविद्यालयका डिन ऐनुल हसन, इन्टिच्युड अफ पिएस एण्ड कन्फिल्ट स्टडिजका सिनियर फेलो अभिजीत अय्यर मित्रा, पत्रकार कञ्चन गुप्ता, दिल्ली विश्वविद्यालयका प्राध्यापक प्रकाश सिंहसहित रहेका छन् ।

    यस्तै डा. स्वदेश सिंह, डा. तरुण कुमार गर्ग, डा. पञ्कज मिश्रा, जेएनयुका डा. प्रमोद कुमार, प्राध्यापक अश्विनी महापात्रा र प्राध्यापक अजहर आसिफ, सुशान्त सरीन, आइआइती मद्रासका डा. इ किशोर, डा. राम तुरे, आइआइटी दिल्लीकी डा. स्मिता, दिनेश कुमार, डा. आनन्द मधुकर, कोलकाता विश्वविद्यालयका प्रसनजीत दास, अयान बेनर्जी, विश्वभारती शान्ति निकेतनका प्राध्यापक रामेश्वर मिश्रा, प्राध्यापक स्वपन कुमार मण्डल र प्रोफेसर देवाशीष भट्टाचार्यसहितले पनि हस्ताक्षर गरेका छन् ।

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend