काठमाडौँ । सरकारले एसीसी प्रिमियर कपको उपाधि विजेता नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ ।
सरकारकी प्रवक्ता रेखा शर्माले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले क्रिकेट खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख तथा राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिइन्।
मंगलबार भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो ।
एसिसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपका लागि छनोट भएको छ। एसिया कपमा नेपालले अब भारत र पाकिस्तानसँग खेल्नेछ।
साथै मन्त्रिपरिषद बैठकले त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजनमा विशेष प्राथमिकतामा राख्ने निर्णय समेत गरेको छ ।