काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले पार्टी भित्र गुटबन्दी कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताएका छन् ।
प्रेस सेन्टर नेपालको १९ औं साधारण सभा र २१ औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई शनिबार सम्बोधन गर्दै उनले भने, ‘पार्टी केहि बिग्रिएको छ । यसको जिम्मेवारी हामीले सबैले लिनुपर्छ । केहि मात्रामा बिग्रिनुको प्रमुख कारण भनेको नेता कार्यकर्ता जनतामा नजानु नै हो । दोस्रो कारण पार्टीमा गुटबन्दी छ । यो पार्टीमा गुटबन्दीलाई मान्यता दिइँदैन । नेतृत्व सक्षम भएर मात्रै अगाडि बढ्न सकिन्छ ।’
उनले पार्टीलाई राम्रो बनाउनका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीकै नेता कार्यकर्ताले घेराबन्दी गर्नुपर्ने बताए । उनले भने, ‘घेराबन्दीको बीचमा अगाडि बढ्नका लागि दृढ संकल्प गर्नुपर्छ । कमरेड प्रचण्डको वरिपरि घेराबन्दी पार्टीका नेता कार्यकर्ताले नै गरौं ।’
उपाध्यक्ष महराले माओवादी नेतृत्वको सरकारका विरुद्ध वैदेशिक शक्ति पनि घेराबन्दीमा लागेको बताए ।
उनले वैदेशिकसहित आन्तरिक रुपमा पनि भइरहेको घेराबन्दी तोड्नका लागि सबै एक भएर लाग्न प्रेस सेन्टर नेपाललाई आग्रह गरे ।