काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक बर्षको बजेटले एकैचोटी आमूल रुपान्तरण गर्न नसकेपनि आर्थिक क्षेत्रमा पर्याप्त सुधार ल्याउने दाबी गरेका छन् ।
आर्थिक पत्रकार समाज सेजनले बुधबार आयोजना गरेको पोस्ट बजेटबारे गरेको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले संकटापन्न आर्थिक अवस्था सुधारमा धेरै महत्वपूर्ण उपलब्धि हासिल गर्ने गरी बजेट निर्माण गरिएको बताए ।
बजेटको अहिलेको आकारभन्दा पनि ठूलो बनाउन आफूलाई दबाब आएको उल्लेख गर्दै उनले परिस्थितिका कारण केही ठूलो बजेट निर्माण गरिएको बताए ।
सांसद विकास कोषको बजेट पुँजीगत नै भएको भन्दै उनले दुरुपयोग नहुने विश्वास दिलाए। सांसद विकास कोषको बजेट सांसदले सिधै खर्च गर्न नसक्ने र सो कोषको बजेटमा सांसदको भूमिका सिफारिस गर्ने मात्रै हुने उनको भनाई छ ।
यद्यपी, सञ्चारमाध्यमले बजेटका सकारात्मक कार्यक्रम ढाकेर सांसद विकास कोषको मात्रै प्रचार गरेको गुनासो सुनाए । ‘सांसद विकास कोषलाई मिडियामा बजेटका राम्रा कार्यक्रम ढाकेर प्रचार भयो, यो कोष होइन, कार्यक्रम हो, त्यही अनुसार बुझौं ।’ महतले भने ।