काठमाडौं । सरकारले आज नयाँ मुख्य सचिव नियुक्त गर्ने तयारी गरेको छ । उक्त निर्णय गर्नका लागि मन्त्रिपरिषद् बैठक बस्दै छ ।
प्रधानमन्त्रीको सचिवालय निकट स्रोतका अनुसार नयाँ मुख्य सचिवमा डा. बैकुण्ठ अर्यालको सम्भावना बढी रहेको छ । ‘अहिलेका मुख्य सचिव शंकरदास वैरागीलाई कुनै आकर्षक पदमा व्यवस्थापन गरेर अर्याललाई मुख्य सचिवमा नियुक्ति गर्ने तयारी छ,’ स्रोतले बतायो ।
हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छन् । सचिवको रुपमा उनको कार्यकाल असार ३ मा सकिदैँछ। त्यसअघि नै उनलाई मुख्य सचिव नियुक्त गर्ने तयारी गरिन लागेको स्रोतले भन्यो ।
अहिलेका मुख्य सचिव रहेका वैरागीको कार्यकाल भने आगामी असोज मसान्तसम्म रहेको छ । वैरागी आफ्नो उचित व्यवस्थापनको सर्तमा अर्याललाई मुख्य सचिव बनाउन तयार भएका हुन् ।
वैरागी र अर्यालबीच राम्रो सम्बन्ध रहेको उनीहरु नजिँकका कर्मचारीहरुको भनाई छ । अर्याललाई सञ्चार मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चैत दोस्रो साता सरुवा गरिएको थियो ।
उनलाई आर्थिक तथा पूर्वाधार विकास हेर्ने जिम्मेवारी यसअघि तोकिएको थियो ।