काठमाडौं । नेकपा (एकिकृत समाजवादी) का उपाध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री र सांसदहरुको निर्वाचन क्षेत्र बराबर भएपनि सो अनुसारको बजेट विनियोजन हुन नसकेको बताएका छन् ।
आईतवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै पाण्डेले यस्तो बताएका हुन् । उनले सरकारले बजेट बनाउँदा १६५ निर्वाचन क्षेत्रका सांसदहरुलाई समानुपातिक रुपमा बजेट विनियोजन गर्नुपर्ने बताए । उनले आफूहरु सत्तापक्षको भएपनि सरकारले प्रधानमन्त्री,पूर्वप्रधानमन्त्री र मन्त्रीहरुको निर्वाचन क्षेत्र केन्द्रित बजेट ल्याएकाले बजेट कुनैपनि हालतमा पास गर्न नसकिने बताए ।
उनले संसदबाट बजेट पास हुन १३८ सांसद आवश्यक रहेको भन्दै यथास्थितिमा बजेट पास गरे १३८ सांसद नपुग्ने बताए । मन्त्रीले सांसदहरुलाई आफ्नो क्षेत्रका समस्या नसोधी बजेट विनियोजन गरेको भन्दै बजेट निर्माणमा सरकारले सांसदहरुको भुमिका हुनुपर्ने बताए । उनले बजेट आफ्नो क्षेत्रमा लैजानका लागि मन्त्री नै हुनुपर्ने अवस्था वर्तमान सरकारले देखाएको आरोप लगाए ।
उनले भने, ‘१३८ सांसद भएन भने सरकारले ल्याएको बजेट पास हुँदैन । बजेट पास गर्ने बेलामा सांसद तर १३८ जना सांसदले सरकारका कुन मन्त्रीले सांसदहरुसँग भेटेर समस्या के छ भनेर सोधेको कुनै रेकर्ड छैन । बजेट निर्माणमा सांसदहरुको भुमिका खोई भनेर मैले खोजेको हो । मैले प्रधानमन्त्रीसँग र शेरबहादुर देउवासँग सोधेँ तपाईहरुलाई भोट हाल्ने जनता र मलाई भोट हाल्ने जनतामा फरक के छ । तपाईको निर्वाचन क्षेत्रमा ५५ करोड जाने अर्कोको निर्वाचन क्षेत्रमा १ सय १० करोड जाने मेरो क्षेत्रमा चिल्लै हुने । यस्तो अवस्थाको अन्त्य हुनुपर्छ । अन्त्य गर्ने तरिका १६५ निर्वाचन क्षेत्र छ । १६५ निर्वाचन क्षेत्रका सांसदहरुको संयोजकत्वमा सम्बन्धित मन्त्रालयले बजेट बनाउनु पर्छ । त्यसो भए बजेट न्यायपूर्ण हुन्छ । अहिले बजेट टाइप म्यान र विचौलियाले हाल्छन् । बाटोमा यति खर्च गरे बजेट पारे भन्दै हिँड्छन् । यो कुराको अन्त्य गर्नुपर्छ । यो प्रश्नको उत्तर अर्थमन्त्री र प्रधानमन्त्रीले दिएनन् भने बजेट पास गर्न दिँदैनौं । यो वर्ष नपाए पनि आगामी चार वर्षमा सांसदहरुले बजेट निर्माणमा भुमिका निर्वाह गर्न पाउँछु । सांसदहरुको क्षेत्रमा दिने बजेट समानुपातिक हुनुपर्छ । मन्त्री भएपछि आफ्नो क्षेत्रमा बजेट झ्याप हाल्न पाइने भएकाले मन्त्री बन्न दौडधुप हुने रहेछ । प्रकाशशरणको ठाउँमा म अर्थमन्त्री भएको भए धादिङमा बजेट ओइराउन मिल्ने रहेछ ।’
उनले प्रधानमन्त्रीको क्षेत्रमा ५५ करोड, पूर्र्वप्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा १ सय १० करोड जाने तर अन्य सांसदहरुको क्षेत्रमा बजेट कम जाने प्रवृतिको अन्त्य गर्नपनि बजेट पास गर्न दिन नहुने बताए । उनले १६५ निर्वाचन क्षेत्रका सांसदहरुको संयोजकत्वमा सम्बन्धित मन्त्रालयले बजेट बनाउनुपर्ने बताए ।