काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ । बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
विजयका लागि १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा सबै विकेट गुमाएर ८७ रनमा समेटियो ।
सिंगापुरको इनिङ्स कमजोर बनाउन नेपालका सबै बलरहरुले राम्रो प्रदर्शन गरे। कृतिक कामतले सर्बाधिक ३ विकेट झारे। उनले २.३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । कप्तान अभिषेक तिवारी, प्रतीक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेनले समान १र१ विकेट लिए ।
सिंगापुरका तर्फबाट ओपनर श्रेयन च्यायु २ रनमा आउट भएपछि आएका रहील थाक्करले अर्का ओपनर रोशन रविचन्द्रनसंग मिलेर ४३ रनको साझेदारी कायम गरे ।
रविचन्द्रनले सर्वाधिक २४ रन बनाए भने थाक्करले ७ रन बनाए। कविर बेर्लियाले ११ र प्रनव धनुकाले १४ रन बनाए भने अन्य क्रिकेटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रनको योगफल बनाएको थियो ।
नेपालका लागि सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी कायम गरेका थिए ।
कोइरालाले ४३ रनको योगदान दिए भने निरजकुमार यादव चौथो विकेटका रुपमा ४२ रन जोड्दै आउट भए । कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए ।
अब फाइनलमा भोलि मंगलबार नेपालले घरेलु टोली मलेसियासँग मुकाबिला गर्नेछ। अर्को सेमिफाइनलमा हङकङलाई पराजित गर्दै मलेसियाले नेपालसँगको फाइनल प्रतिस्पर्धा पक्का गरेको हो ।