काठमाडौं । एसीसी इमर्जिङ टिम्स् कपको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग चार विकेटले पराजयको सामना गरेको छ ।
नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेका हुन् ।
पाकिस्तानका लागि मोहम्मद तय्यब तहिरले ५१, ओमिर बिन युसुफले ३६, कम्रान गुलामले ३० र सैम अयुबले २४ रन बनाए।
नेपालका लागि ललित राजवंशीले तीन, पवन सर्राफले दुई र कुशल मल्लले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको नेपालले ३७ ओभरमा १७९ रनको योगफल बनाएको हो। नेपालका लागि सोमपाल कामीले ७५ रन बनाए। उनले १०१ बलमा नौ चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै, नेपालका लागि प्रतिश जीसीले २६, कुशल मल्ल र अर्जुन साउदले १७/१७, गुल्सन झाले १३ र आसिफ शेखले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि बनाउन सकेनन् ।
पाकिस्तान ‘ए’ का लागि शहनावाज दहानीले पाँच, मोहम्मद वासिमले चार र मुबासिर खानले एक विकेट लिए। एसीसी इमर्जिङ टीम्स कपमा आठ टोली प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल रहेको समूह ‘बी’ मा पाकिस्तानसँगै भारत र यूएई छन्।
त्यस्तै, समूह ‘ए’ मा अफगानिस्तान, श्रीलंका, बाङ्लादेश र ओमन छन्। नेपाल बाहेक सातै देशका दोस्रो टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।नेपालले अब अर्को खेलमा साउन १ गते भारत ‘ए’ सँग खेल्ने छ ।