काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल आज भारत ए सँग प्रतिस्पर्धा गर्दै छ ।
कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा डे नाइटमा खेलाइने छ । खेल दिउँसो २ बजे सुरु हुनेछ । नेपाली टोलीले डे नाइट खेल भएकोले यस खेलका लागि आइतबार(हिजो) नाइटमा अभ्यास समेत गरेको थियो ।
समूह बी मा रहेको नेपाल पहिलो खेलमा फितलो ब्याटिङ प्रदर्शन गर्दा पाकिस्तान ए सँग ४ विकेटले हार व्यहोरेको थियो ।
उता भारत ए ले पहिलो खेलमा यूएई ए लाई पराजित गरेर उत्कृष्ट सुरुवात देखाएको थियो । कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपालको सिनियर टोलीले नै इमर्जिङ कप खेले पनि एसिया कपअघि यसलाई तयारी खेलका रुपमा लिइएको छ ।
इमर्जिङ कपमा नेपालले प्रत्येक खेल जित हाँसिल गर्ने मानसिकतासहित खेल्ने प्रतियोगिताअघि रोहितले भनेका थिए ।
भारत ए को कप्तानी यू–१९ विश्वकप जिताएका कप्तान यस डुलले गर्नेछन् जसमा इन्डियन प्रिमियर लिग आईपीएल खेलेका खेलाडीहरुको वर्चस्व रहेको छ ।
नेपालले अगष्ट–सेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामै हुने एसिया कपमा पनि समूह चरणमा भारत र पाकिस्तानसँग भिड्ने छ ।