काठमाडौं । नेपाल पुरुष राष्ट्रिय भलिबल टिमका नयाँ कप्तानको जिम्मेवारी मानबहादुर श्रेष्ठको काँधमा आएको छ ।
सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णयसँगै उनको काँधमा नेपाली भलिबलको जिम्मेवारी आएको हो ।
नेपालको राष्ट्रिय टिममा सन् २०१५ देखि खेल्दै आएका मानबहादुरले नेपालले खेलेको पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिगमा सहभागी भएका छन् ।
नेपालले २०१७ मा माल्दिभ्समा सेनट्रल जोनमा तेस्रो हुँदै कांस्य पदक जित्दा मानबहादुरले बेस्ट आउटसाइड सेकेण्ड अट्याकरको अवार्ड हात पारेका थिए ।
यसअघिका कप्तान आर्मीका सेटर हरि हजुर थापालाई राष्ट्रिय टिमको नेतृत्व सम्हाल्न नसकेको भन्दै संघले उनलाई जिम्मेवारीबाट हटाएपछि कप्तान पद खाली थियो ।
गत महिना मात्र कीर्गिस्तानमा भएको काभा नेसन्स लिगका लागि खुल्ला छनोटमा नियमित कप्तान इम राना मगरले भाग नलिएपछि संघले हरि हजुरलाई कप्तान नियुक्त गरेको थियो ।
सातौं पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितका क्रममा गण्डकीविरुद्धको खेलमा थापाले कप्तानको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नसकेको र कर्तव्यविमुख भएको बताउँदै संघले उनलाई कप्तानबाट हटाएको थियो ।
अघिल्लो सोमबार भएको गण्डकीविरुद्धको खेलमा तनाव सिर्जना हुँदा आर्मीका धनबहादुर भट्टले दर्शकमाथि नै आक्रोश पोख्दै कुटपिटमा उत्रिएका थिए ।
सोही कारणले धनबहादुर ६ महिनाका लागि निलम्बनमा नै परेका छन् ।