काठमाडौं । एसीसी इमर्जिङ टीम्स कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा यूएई ‘ए’ ले नेपाल सामु जितका लागि १५८ रनको सामान्य लक्ष्य दिएको छ ।
श्रीलंकामा जारी खेलमा बुधबार टस जितेर ब्याटिङ रोजेको यूएई ‘ए’ ले ४४ ओभरमा १५७ रनको योगफल बनाएको हो। यूएई ‘ए’ का लागि लवप्रित सिंहले अर्धशतक प्रहार गरे। उनले ८२ बलमा ६ चौका र एक छक्का प्रहार गरे।
त्यस्तै, इथान डिसुजाले १८, अश्वन्त भलथापाले १६, आर्यन्श शर्माले १४ र जस गिनानीले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो रन समेत जोड्न सकेनन् ।
नेपालका लागि कुशल भुर्तेलले ६, मौसम ढकालले दुई, कुशल मल्ल र पवन सर्राफले एक /एक विकेट लिए। केही बेरमा नेपाल जवाफी ब्याटिङमा उत्रिने छ ।
इमर्जिङ टीम्स कपमा नेपाल र यूएई प्रतियोगिताबाट बाहिरिइसकेका छन्। नेपाल रहेको समूह ‘बी’ बाट भारत ‘ए’ र पाकिस्तान ‘ए’ सेमिफाइनलमा पुगेका छन्।
त्यस्तै, समूह ‘ए’ बाट श्रीलंका ‘ए’ र बाङ्लादेश ‘ए’ सेमिफाइनलमा पुगेका छन्। अफगानिस्तान ‘ए’ र ओमन ‘ए’ प्रतियोगिताबाट बाहिरिएका छन्।