काठमाडौं। श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) ‘ए’ माथि सहजै जित निकालेको छ ।
कोलम्बोस्थित पी सारा ओभल मैदानमा बुधबार भएको खेलमा नेपालले युएईलाई तीन विकेटले पराजित गरेको हो । जितका लागि एक सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा सात विकेटको नोक्सानीमा लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि कुशल भुर्तेलले ७१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४३ बलमा नौ चौका र चार छक्काको सहयोगमा उक्त रन जोडेका हुन् । देव खनाल र सन्दीप जोराले २४/२४, गुलसन झाले ११ र रोहित पौडेलले नौ रन बनाए ।
प्रतिस जिसीले आठ र कुशल मल्लले अविजित दुई रन जोडे । ओपनर अर्जुन साउद र पवन सर्राफ शून्य रनमा आउट भएका थिए । बलिङमा युएईका मोहमेद फाराजुद्धिनले पाँच विकेट लिए । मोहमद जवादुल्लाले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सवै विकेटको क्षतिमा एक सय ५७ रनको योगफल बनायो। युएईका लागि लोभप्रित सिंहले सर्वाधिक ५२ रन बनाए। इथान डिसौउजाले १८, अश्वथा भलथापाले १६, अर्यान्सा शर्माले १४ र जश घियानानीले १३ रन जोडे ।
युएईलाई सस्तैमा समेट्न बलिङमा नेपालका कुशल भुर्तेलले ६ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै ४० रन खर्चिएका थिए । अलराउन्डर प्रदर्शन गर्नुभएका कुशल ‘प्लेयर अफ दि म्याच’ भए। मौसम ढकालले दुई तथा पवन सर्राफ र कुशल मल्लले एक एक विकेट लिए ।
पाकिस्तान र भारतसँगको हारसँगै समूह चरणबाटै बाहिरिएको नेपाल र युएईका लागि आजको खेल केवल प्रतिष्ठाको प्रतिस्पर्धा मात्रै थियो। जसमा नेपाल सफल रह्यो। नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग नौ विकेटले हारेको थियो ।
प्रतियोगितामा नेपाल र यूएईले समूह ‘बी’ बाट प्रतिस्पर्धा गरेका हुन् । यस समूहबाट भारत र पाकिस्तानले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमान छन् । एसियाका आठ टोली सहभागि प्रतियोगितामा सिनियर राष्ट्रिय टोली खेलाउने नेपाल एक्लो देश हो । अन्य देशले युवा खेलाडीलाई अवसर दिएका छन् ।
समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने व्यवस्था छ । फाइनल खेल जुलाई २३ तारिख हुनेछ । यस प्रतियोगिताको कुनै पनि खेललाई एक दिवसीय मान्यता छैन ।
नेपालले यस प्रतियोगितालाई एसिया कपको तयारीको खेलका रुपमा लिएको छ । एसिया कप आगामी अगष्ट–सेप्टेम्बरमा पाकिस्तान र श्रीलङ्कामै हुनेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूह ‘ए’ मा छन् ।
समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबीच उपाधिका लागि भिडन्त हुनेछ ।