काठमाडौं । फिफा महिला विश्व कप फुटबल २०२३ मा कोलम्बियाले दक्षिण कोरियालाई पराजित गरेको छ ।
आज (मङ्गलवार) अस्ट्रेलियाको अलिनाज स्टेडियममा भएको खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २–० गोलले पराजित गर्यो ।
कोलम्बियाका लागि क्याटालिना उस्मेले खेलको ३० औँ र लिन्डा केसेडाले ३९ औँ मिनेटमा गोल गरिन् । यो जितसँगै समूह ‘एच’ मा रहेको कोलम्बियाले ३ अङ्क बनाएको छ ।
यस्तै, आजै न्युजिल्यान्डको वेलिङ्टन रिजनल स्टेडियममा भएको खेलमा फिलिपिन्सले घरेलु टोली न्युजिल्यान्डलाई १–० गोलले पराजित गरेको छ । फिलिपिन्सका लागि सरिना बोल्डेनले खेलको २४ औँ मिनेटमा गोल गरिन् । यो जितसँगै समूह ‘ए’ मा रहेको फिलिपिन्सले ३ अङ्क जोडेको छ । यस्तै, अहिले पौने २ बजे समूह ‘ए’ का स्विट्जरल्यान्ड र नर्वे प्रतिस्पर्धा गर्दै छन् ।
आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोली सहभागी रहेका छन् । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा आयोजना हुने छ ।