काठमाडौं । भारतको गुवाहाटीमा भारतीय सेनाको आयोजनामा हुन गइरहेको ‘डुरान्ड कप प्रतियोगिता–२०२३’ फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सहभागी हुने भएको छ । आज शनिबार सेनाको त्रिभुवन आर्मी क्लबको टोली भारतीय वायुसेनाको विमानमार्फत त्यसतर्फ प्रस्थान गरेको हो ।
यहीं ८ साउनदेखि भाद्र १७ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतको ‘ए लेबल’ का फुटबल क्लबहरु दिल्ली एफसीसँग अगस्ट ९, चेन्नई एफसीसँग १४ अगस्ट र हैदरावाद एफसीसँग अगस्ट २१ मा प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा सहभागी हुनपूर्व राष्ट्रिय फुटबल खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङ्गको नेतृत्वमा ४२ सदस्यीय टोली भारतीय वायु सेनाको विमानमार्फत त्यसतर्फ प्रस्थान गरेको हो ।
प्रतियोगिता सम्पन्न भएपश्चात सो टोली भारतीय वायु सेनाको विमानमार्फत नै स्वदेश फिर्ता हुनेछ । उक्त प्रतियोगितामा सहभागी हुन जाने टोलीलाई बलाधिकृत रथी सरोज प्रताप राणाले जङ्गी अड्डामा एक कार्यक्रमका बीच विदाई गरेका थिए ।
सोही कार्यक्रममा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले प्रधान सेनापति प्रभुराम शर्माको अभिप्राय अनुरुप सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई उत्कृष्ट खेल प्रदर्शनका साथै उच्च अनुशासन कायम गर्न निर्देशन दिएका थिए ।
यस किसिमका खेलकुद प्रतियोगिताहरुमा हुने सहभागिताले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन सहायक सिद्ध मात्र नभई नेपाली सेना र भारतीय सेनाबीचको मित्रता तथा सहकार्यलाई नयाँ उचाईमा पुर्याउने कार्यको लागि कोशेढुङ्गा सावित हुने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।