काठमाडौँ । एसिया कप क्रिकेटमा आज नेपालले बलियो प्रतिद्वन्द्वी भारतकाे सामना गर्दैछ । पहिलो पटक एसिया कपमा सहभागी भएको नेपालले पहिलाे खेलमा पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो भने आज दाेस्राे खेल भारतसँग खेल्दै छ ।
भारतले हालसम्म सर्वाधिक सात पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ । भारत दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियन पनि हो । आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा भारत तेस्रो स्थानमा आसिन छ भने नेपाल १५औँ वरीयतामा रहेको छ ।
नेपाल र भारतबीचको खेलसँगै समूह ‘ए’ को सबै खेल सकिने छ । हाल समूह ‘ए’ तालिकामा दुई खेल खेलेको पाकिस्तान चार अंकसहित पहिलो स्थानमा छ । पाकिस्तान र भारतबीच शनिबार खेलिएको खेल भने वर्षाका कारण रद्द भएको थियो । उनीहरूले अङ्क बाडेका थिए ।
तालिकामा एक अंकसहित भारत दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा रहेको नेपालले हालसम्म खाता खोल्न सकेको छैन । त्यसैले सोमबार हुने नेपाल र भारतबीचको खेल दुबै टोलीका लागि निकै महत्त्वपूर्ण रहेको छ ।
आजकाे खेलमा जुन टोली विजयी हुन्छ त्यो सहजै प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्नेछ ।