काठमाडौँ । आयोजक झापा–११ फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड क्लब छैटौँ झापा गोल्ड कपको फाइनलमा पुगेको छ ।
बिर्तामोडको डोमालाल राजवंशी मैदानमा आज भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले झापा–११ लाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो ।
अब चर्च ब्वाइजले उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग खेल्नेछ । फाइनल खेल आउँदो सोमवार हुनेछ । प्रतियोगिताको विजेताले १३ लाख र उपविजेता टोलीले सात लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।