काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी- २० सिरिजमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी) सँग फाइनल खेल्दैछ।
मङ्गलबार भएको लिग चरणको दोस्रो खेलमा पिएनजीले घरेलु टोली हङकङलाई १० विकेटले हराउँदै फाइनल पुगेको हो। नेपालले पनि मङ्गलबार नै भएको खेलमा पिएनजीलाई ८५ रनले हराएर फाइनलमा स्थान पक्का बनाएको हो ।
शीर्षस्थानमा रहेको नेपालले दुई खेलबाट तीन अङ्क बनाएको छ भने दोस्रो स्थानमा रहेको पिएनजी दुई अङ्क रहेको छ ।
आयोजक हङकङ एक अङ्कसहित अन्तिम अर्थात तेस्रोमा छ।
नेपाल र पिएनजीबीचको फाइनल खेल आज (बुधबार) बिहान ११ बजेर ४५ मिनेटमा हङकङको मोङ कोक मैदानमा हुनेछ।