logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • सुदूरपश्चिमको राजनीतिमा नयाँ मोड, मुख्यमन्त्रीका लागि परेका दुबै दाबी अस्वीकृत

    सुदूरपश्चिमको राजनीतिमा नयाँ मोड, मुख्यमन्त्रीका लागि परेका दुबै दाबी अस्वीकृत

    2.1K
    Shares
    सुदूरपश्चिमको राजनीतिमा नयाँ मोड, मुख्यमन्त्रीका लागि परेका दुबै दाबी अस्वीकृत

    काठमाडौँ । सुदूरपश्चिमको राजनीतिमा नयाँ मोड सुरु भएको छ । यसअघि मुख्यमन्त्रीका लागि परेका दुबै दाबी अस्वीकृत भएपछि प्रदेशको राजनीतिले नयाँ मोड लिएको हो ।

    प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आह्वान नै गरेपछि फेरी एकपटक राजनीतिक माहोल तातेको छ । भोलि (विहिबार) सम्मको समय दिएर मंगलबार दाबी पेस गर्न १६८ (२) अनुसार नै पुनः मुख्यमन्त्रीको आह्वान प्रदेश प्रमुखले गरेका हुन् ।

    यसअघि प्रदेश प्रमुख मियाँले १० दिनको म्याद दिएर १६८ (२) अनुसार नै प्रदेशसभा सदस्यलाई आइतबारभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । त्यसअनुसार नागरिक उन्मुक्तिका दुई जना लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले बेग्लाबेग्लै समर्थक जुटाएर दाबी पेस गरेका थिए ।

    आइतबार एउटै पार्टीबाट दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुख मियाँले कानुनी परामर्श गर्ने भन्दै दुई दिनको समय लाग्ने भन्दै दुवै दाबीलाई मंगलबारसम्म थाती राखेका थिए । मंगलबार पुनः आह्वान गर्दा एउटै दलका दुई जनाको दाबी पेस हुन आएकोले निष्कर्षमा पुग्न नसकिएको प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ दाबीका लागि भोलि बेलुका ५ बजेसम्म दाबी पेस गर्न भनिएको छ ।

    एकीकृत समाजवादी, कांग्रेस र राप्रपाको समर्थन जुटाएर मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीपक्षधर प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले बहुमत सांसदको समर्थन रहेको भन्दै दाबी पेस गरेका थिए ।
    अर्कोतिर एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसदसहित नागरिक उन्मुक्तिकै रञ्जिता श्रेष्ठपक्षधर सांसद कैलाश चौधरीले पनि दाबी पेस गरेका थिए ।

    एकीकृत समाजवादीले सुदूरपश्चिममा चालेको ‘विद्रोही कदम’ ले केन्द्रीय सत्ता गठबन्धनमै हलचल आएको थियो । त्यसपछि सत्तारुढ दलका शीर्ष नेताहरुबीच मंगलबार सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन सहमत भएपछि एकीकृत समाजवादीले चौधरीका लागि गरेको समर्थनबाट पछि हटेको हो । अर्कोतिर नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठले गठबन्धन दलका शीर्ष नेतासमक्ष सुदूरपश्चिमको मुख्यमन्त्रीमा आफ्नो पार्टीले पाउनुपर्ने अडान लिएकी थिइन् ।

    त्यसैअनुसार प्रदेशसभा सदस्य कैलाश चौधरीलाई दाबी पेस गर्न लगाएकी अध्यक्ष श्रेष्ठ पनि मन्त्रीसमेत नपाउने र आफ्नोविरुद्ध रहेका रेशम चौधरी पक्ष हाबी हुने देखिएपछि एकीकृत समाजवादीलाई मुख्यमन्त्रीमा समर्थन गर्न तयार भएकी हुन् ।

    आफ्नो दललाई मुख्यमन्त्री दिन सत्तारुढ दलका शीर्ष नेताहरु सहमत भएपछि मंगलबार एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले आइतबार लक्ष्मणकिशोर चौधरीलाई दिइएको समर्थन फिर्ता लिइएको पत्र प्रदेश प्रमुखसमक्ष पेस गरेका थिए ।

    अब केन्द्रीय सत्ता गठबन्धनअनुसार एमाले, माओवादी, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदको समर्थनमा एकीकृत समाजवादीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend