logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • डोटीमा स्वास्थ्य शिविर सञ्चालन गर्ने नक्कली डाक्टर पक्राउ

    डोटीमा स्वास्थ्य शिविर सञ्चालन गर्ने नक्कली डाक्टर पक्राउ

    2.1K
    Shares
    डोटीमा स्वास्थ्य शिविर सञ्चालन गर्ने नक्कली डाक्टर पक्राउ

    काठमाडौँ । जिल्ला प्रहरी कार्यालय डोटीले स्वास्थ्य सशिविर सञ्चालन गर्ने नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।

    प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीकाअनुसार नक्कली डाक्टर महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ गरिएको हो ।

    उनीहरुको कागजपत्र हेर्दा शंका लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौँ पठाउँदा डाक्टर भनिएका भूपेन्द्रबहादुर क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएपछि दुवै जनाविरुद्ध इलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।

    प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले दुवै जनाविरुद्ध मुद्दा दर्ता भई जिल्ला अदालत डोटीबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको जानकारी दिए । अभियुक्तहरुले दिपायल सिलगढी नगरपालिका–४ मा स्वास्थ्य शिविर सञ्चालन गरेर ठगी गरेका थिए ।

    उनीहरुले डोटीको दिपायल सिलगढी नगरपालिका–४ दिपायल स्थित राजपुरमा गएको वैशाख २७ गतेदेखि २९ गतेसम्म तीन दिन स्वास्थ्य शिविर सञ्चालन गरेका थिए । उक्त शिविरमा दुई सय ३० जना बिरामीले स्वास्थ्य परीक्षण गराएका थिए । बिरामीहरुबाट होल बडी चेकअप भनेर पाँच सयका दरले एक लाख १५ हजार असुल गरिएको थियो ।

    स्वास्थ्य परीक्षण गराउने अधिकांश बिरामीहरुलाई रोग निको हुने भन्दै पाँच हजारका दरले ब्रासलेट, एटिएम जस्तो कार्ड खरिद गर्न लगाइएको थियो ।

    ठगी गर्ने व्यक्तिहरुले यस अघि कञ्चनपुर, डडेल्धुरा लगायतका जिल्लाहरुमा पनि शिविर सञ्चालन गरेर ठगी गरेको आरोप लागेको छ ।

    शिविरमा प्रयोग भएका सामग्रीसहित पक्राउ परेका क्षेत्री र गुनीयाललाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend