logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • कटौती भएको बजेट माग गर्दै अर्थ मन्त्रालय पुगे स्थानीय तहका प्रतिनिधि

    कटौती भएको बजेट माग गर्दै अर्थ मन्त्रालय पुगे स्थानीय तहका प्रतिनिधि

    945
    Shares
    कटौती भएको बजेट माग गर्दै अर्थ मन्त्रालय पुगे स्थानीय तहका प्रतिनिधि

    काठमाडौं । स्थानीय तहहरुले वित्तीय समानीकरणको बजेट कटौती भएको भन्दै कटौती भएको बजेट तुरुन्त पठाउन संघीय सरकारसँग माग गरेका छन् । स्थानीय तहहरुले चालु आर्थिक वर्ष २०८०–८१ को अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदान सरकारले काटेपनि स्थानीय तहहरुलाई निकै नै समस्या परेको भन्दै तुरुन्तै काटिएको बजेट पठाउन माग गरेका हुन् ।

    आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका पदाधिकारीहरु संयुक्त रुपमा माग लिएर आएका छन् । उनीहरुले बजेट काटिएपछि स्थानीय तहले निर्माण व्यवसायी तथा उपभोक्ताहरुलाई दिनुपर्ने रकम दिन नसकेको भन्दै स्थानीय तहको सो समस्यालाई बुझ्न सरकारलाई आग्रह गरेका छन् ।

    सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले वित्तीय समानीकरणको बजेट काट्नु स्थानीय सरकारलाई कमजोर बनाउनु भएको बताए । उनले यसो गर्नु संघीयता र संविधानको विरुद्धमा लागेको उल्लेख गर्दै सरकारले आफूहरुको माग तुरुन्तै सम्बोधन गर्नुपर्ने बताए । उनले कटौती गरिएको अनुदान नपठाइए आन्दोलित हुने पनि बताए ।

    उनले भने– ‘आज हामी अर्थमन्त्रीज्यूलाई अस्ति बोलेको कुरा के हो भनेर सम्झाउन आएका हौँ हामी । अर्थमन्त्रीज्युले हामीलाई सम्बोधन गर्नुहुन्छ र यतिदिन भित्रमा तपाईहरुको पैसा रिलिज गरिदिन्छौँ भनेर रिलिज गरिदिनु हुन्छ भन्ने हामीलाई विश्वास छ । होइन भने ७५३ वटा नै बन्द गरेर सम्पूर्ण निर्वाचित प्रतिनिधिसहित काठमाडौं आएर बस्नु नपरोस् । त्यो दिन देख्न नपरोस् । संघीयताको नेताको रुपमा रहेका प्रधानमन्त्रीबाट सम्भवत्ः हाम्रो भावना विपरित जादैनँ । यो बजेट काटिनु भनेको संघीयता विरोधी हो । संविधान विपरित हो । तपाईहरु ढुक्क हुनुस् भन्नुभएको छ प्रधानमन्त्रीले ।’

    सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सरकारले संविधान विपरित वित्तीय समानीकरणको बजेट काटेकाले सो रकम छिट्टै दिइनुपर्ने बताइन् । उनले चालु आर्थिक वर्षको अन्त्यमा आफूहरुलाई बजेट भुक्तानीको दबाब पर्ने भन्दै बजेट अभावमा निर्माण सम्पन्न भइसकेका आयोजनाको समेत भुक्तानी दिन नसकेको बताइन् । उनले यो प्रश्न संघीयता कार्यान्वयनसँग पनि जोडिएको भन्दै सिंहदरबारले स्थानीय तहलाई अप्ठ्यारो पार्नु नहुने बताइन् ।

    उनले भनिन् – ‘सामान्यीकरण अनुदान संघीय सरकारबाट कटौती भएको । माघ ९ गतेको मन्त्रिपरिषद् बैठकले संसदबाट विनियोजित बजेट कटौती गरेको । हुनै नमिल्ने संविधान विपरित भइरहेको । चालु आवको अन्त्य आइसकेको छौँ । नयाँ बजेट बनाउने बेला भइसक्यो । अहिले भुक्तानी लिन आएका निर्माण व्यवसायी, उपभोक्ताले भुक्तानी लिन लागिरहेका छौँ । २६ प्रतिशत अनुदान गएन भने बजेट बनाउन सक्दैनौँ । सिंहदरबारबाट हामीलाई असहज हुने वातावरण बनाउनु हुँदैन । संघीयता कार्यान्वयनका लागि ।’

    उनले अनुदान रकम नगएमा आफूहरु आन्दोलित हुन बाध्य हुने बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend