logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • २० अर्ब डलर सम्पत्ति भएका ९३ वर्षे मिडिया टाइकून रुपर्ट मर्डकले गरे पाँचौँ विवाह

    २० अर्ब डलर सम्पत्ति भएका ९३ वर्षे मिडिया टाइकून रुपर्ट मर्डकले गरे पाँचौँ विवाह

    1.6K
    Shares
    २० अर्ब डलर सम्पत्ति भएका ९३ वर्षे मिडिया टाइकून रुपर्ट मर्डकले गरे पाँचौँ विवाह

    बीबीसी । ९२ वर्षका वृद्धले विवाह गर्छन ? झट्ट सुन्दा पत्याउन गाह्रो पर्छ । तर, यो कुरा सत्य हो । विश्वकै मिडिया टाइकून रुपर्ट मर्डकले ९३ वर्षको उमेरमा पाँचौँ पटक विवाह गरेका छन्। अमेरिकाको क्यालिफोर्नियामा उनको विवाहको समारोह आयोजना भएको थियो। उनकी पत्नी एलेना जुकोभा ६७ वर्षकी छिन्। उनी अवकाशप्राप्त रुसी वैज्ञानिक हुन्।

    मर्डकले एन लेज्ली स्मिथसँग हुन लागेको बिहे गत वर्ष एप्रिलमा अकस्मात् स्थगित गरिदिएका थिए। त्यतिबेलै उनको जुकोभासँग सम्बन्ध रहेको चर्चा चलेको थियो। छोराछोरी र नातिनातिनाको उपस्थितिमा बिहे गरेका मर्डकको जन्म अस्ट्रेलियामा भएको हो। उनका दुई छोरा र चार छोरी छन्।

    उनी फक्स न्यूज, वाल स्ट्रीट जर्नल, सन र टाइम्सजस्ता पत्रपत्रिका प्रकाशन गर्ने संस्था न्यूज कर्पोरेशनका मानार्थ अध्यक्ष छन्। गत वर्ष उनले फक्स र न्यूज कर्पको कार्यकारी पद त्याग गर्दै ती दुई कम्पनी आफ्ना छोरा लक्लनलाई जिम्मा लगाएका थिए। लक्लन रुपर्ट मर्डक र उनकी दोस्री पत्नी एना मारिया डेपेस्टरका सन्तान हुन्।

    फोर्ब्स म्यागजीनले सार्वजनिक गरेको विवरणअनुसार रुपर्ट मर्डक र उनको परिवारको स्वामित्वमा रहेको सञ्चारउद्योगको मूल्य १९.९ अर्ब अमेरिकी डलर छ। सन् २०२१ मा उनीहरूसँग २३.५ अर्ब अमेरिकी डलरको सम्पत्ति भएको देखिन्छ।

    मर्डककी एक पूर्वपत्नी वेन्डी देङले आयोजना गरेको एउटा भोजमा मर्डकले जुकोभालाई पहिलो पटक भेटेको बताइन्छ। देङ चीनमा जन्मिएकी उद्यमी हुन्।

    अस्ट्रेलियाली विमानपरिचारिका प्याट्रिसिआ बुकर, स्कटल्यान्डमा जन्मिएकी पत्रकार एना मन र अमेरिकी मोडल तथा अभिनेत्री जेरी हलसँग पनि मर्डकले बिहे गरेका थिए। बिहे गरेको ३२ वर्षपछि उनले एनासँग सम्बन्धविच्छेद गरेका थिए।

    जुकोभाको बिहे रुसी तेल व्यापारी अलेक्जान्डर जुकोभसँग थियो। उनीहरूकी छोरी दाशाले रुसी धनाढ्य रोमन अब्रामोभिचसँग बिहे गरेकी थिइन् । तर, उनीहरू सन् २०१७ मा छुट्टिए।

    मर्डकले यसरी बनाए सञ्चार साम्राज्य

    मर्डकको जन्म सन् १९३१ मा अष्ट्रेलियका मेल्बोर्नमा भएको हो। उनको रुचि सानै उमेरमा सञ्चारमाध्यमा जागेको देखिन्छ। बेलायतको अक्सफर्ड विश्वविद्यालयमा हुँदा उनले विद्यार्थीहरूले प्रकाशन गर्ने पत्रिका किन्न खोजेका थिए। उनी वामपन्थी विचारधाराराबाट प्रभावित थिए।

    मर्डकले सन् १९५० को दशकमा आफ्नो व्यावसायिक जीवन अस्ट्रेलियामा सुरु गरे। सन् १९६९ मा उनले बेलायतबाट प्रकाशित हुने दुई पत्रिका न्यूज अफ द वर्ल्ड र द सन पत्रिका किने।

    पछि उनले अमेरिकाबाट प्रकाशित हुने न्यूयोर्क पोस्ट र वालस्ट्रीट जर्नल पनि किने।सन् १९९६ मा उनले फक्स न्यूज टीभी स्थापना गरे। अहिले अमेरिकामा उक्त टीभी सर्वाधिक हेरिने समाचार च्यानल हो।

    सन् २०१३ मा स्थापित न्यूज कर्पअन्तर्गत अहिले सयौँ स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारगृह छन्। ती सबैको स्वामित्व मर्डकसँग छ।

    मर्डक, राजनीति र विवाद

    उनको व्यावसायिक जीवनमा बेलाबेलामा विभिन्न विवाद देखा परे। सन् १९८० को दशकको उत्तरार्धसम्म मर्डकको साम्राज्य ठूलो ऋणमा फसे पनि ढलेन, त्यो अझ फैलिँदै गयो।

    उनले हार्परकोलिन्सलाई अग्रणी पुस्तक प्रकाशनगृह बनाए र एशियाभरि प्रसारित हुने स्टार टीभी किने।तर सञ्चारजगत्‌मा उनको नियन्त्रण र राजनीतिमा उनले पार्ने गरेको प्रभावबारे प्रश्नहरू उठ्न थाले।

    सन् १९८० को दशक र १९९० को दशकको पूर्वार्धसम्म उनका प्रकाशनहरूले प्रायः कन्जर्भेटिभ सरकारलाई समर्थन गरे।तर, सन् १९९७ मा टोनी ब्लेर प्रधानमन्त्री बन्नुअघि नीति परिवर्तन गर्दै उनले लेबर पार्टीप्रति नरम हुने निर्देशन आफ्ना पत्रपत्रिकालाई दिए। त्यस्तो परिवर्तन विजेतालाई सघाउने रणनीतिअन्तर्गत थियो।

    मर्डकले क्यानडाका कन्जर्भेटिभ प्रधानमन्त्री स्टीभन हार्पर अनि अमेरिकाका दुई राष्ट्रपति बराक ओबामा र डोनल्ड ट्रम्पसँग पनि त्यस्तै सहमति गरेको ठानिन्छ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend