काठमाडौँ । सरकारले बजेटमा भन्सार दर बढाएपछि नेपाली बजारमा सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड कायम गरेको छ । आज बिहीबार सुन तोलामा १ हजार ८०० रुपैयाँले बढ्दै हालसम्मकै उच्च मूल्यमा पुगेको हो । बिहिबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४३ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सरकारले बजेटमा भन्सारदर थप ५ प्रतिशत बढाएपछि यसको असर सुनको भाउमा परेको महासंघको पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । सुनको भन्सार दर अहिले २० प्रतिशत पुगेको छ । सुनको भन्सार दर तोलामा ६ हजार रुपैयाँ लागेको उनले जानकारी दिए । सुनमा प्रतितोला २७ हजार रुपैयाँ भन्सार लाग्ने गरेको शाक्यले जानकारी दिए । ५ प्रतिशत थप भन्सार लागेपछि व्यवसायीले ६ हजार रुपैयाँ बढी तिर्नुपरेको उनको भनाई छ ।
पछिल्लो समय सुनको भाउ बढ्नुमा अन्तर्राष्ट्रिय परिवेश नभइ भन्सार दर वृद्धि भएको उनको भनाई छ । संघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २३ सय ६८ डलर रहेको छ । यस्तै क्यानाडाको केन्द्रीय बैंकको ब्याजदर ०.५ प्रतिशत घटाएका कारण विश्व बजारमा सुनको भाउ केही बढेको शाक्य बताउछन् । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेर २४ सय ३० डलरसम्म पुगेको थियो ।