logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट समानुपातिक रुपमा वितरण गर्नुपर्छ’

    ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट समानुपातिक रुपमा वितरण गर्नुपर्छ’

    483
    Shares
    ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट समानुपातिक रुपमा वितरण गर्नुपर्छ’

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट समानुपातिक रुपमा वितरण गर्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजना शिर्षकमा सुनसरीको एउटा निर्वाचन क्षेत्रमा मात्रै ९३ वटा योजना पारेको उल्लेख गर्दै आक्रोश व्यक्त गरे ।

    उनले एउटै निर्वाचन क्षेत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विभिन्न योजनाहरुको लागि बजेट विनियोजन गरेकोमा आपत्ति जनाउँदै आफूलाई सो बजेटको किताव नै च्यातेर फाल्न मन लागेको प्रतिक्रिया दिए । आफू सांसद भएको र संसदीय मर्यादाका कारणमात्रै सो किताव च्यात्न नसकेको स्पष्टिकरण पनि सांसद यादवले दिए । उनले मन्त्रालयको बजेटलाई मन्त्रीहरुले व्यक्तिगत सम्पत्ति जसरी विनियोजन गर्न नमिल्ने पनि पटकपटक दोहोर्याए ।

    सांसद यादवले भने, ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट हेर्दा लागि रहेको छ–यो सरकार जनताको सरकार होइन । एउटा व्यक्तिले परिवार ठानेजस्तै यो मन्त्रालयलाई मन्त्रीजीले आफनो ठान्नु भएको छ । हेर्नुस् त सुनसरी एउटा निर्वाचन क्षेत्रमा ९३ वटा योजना गएको छ । यो अन्याय हो कि न्याय हो ? यस्तो पनि कहीँ मन्त्री हुन्छन् ? यस्तो लाग्छ–एकचोटी मैले मन्त्रालय पाएको छु । तर मन्त्रालय पाउँदैमा व्यक्तिगत सम्पत्ति आर्जन गरेजस्तो गरेर सबै योजना ल्याउ । यसरी महान बन्न खोज्नु भएको छ ।

    उहाँलाई लाज लाग्नुपर्ने । यस्तो किसिमको बजेट ल्याउन पाईन्छ ? मलाई त लागेको थियो संसदीय मर्यादा विपरित हुन्छ । मलाई यो बजेटको कितावलाई च्यातेर बाहिर फालिदिउजस्तो मलाई लागिरहेको थियो । तर मैले फालेको छैन । किनभने संसदीय मर्यादा छ । म सांसद छु । जनताबाट जितेर आएको छु । ३/३ चोटी जितेर आएको छु । त्यसकारण मात्रै मैले त्यस्तो क्रियाकलाप अपनाएको छैन । तर अपनाउन मन लागिरहेको छ । म आग्रह गर्न चाहन्छु सम्माननीय सभामुखमार्फत सरकारलाई र प्रधानमन्त्रीजीलाई कि उहाँको निर्वाचन क्षेत्रको बजेट समानुपातिक ढंगबाट व्यवस्था गरियोस् । आज महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि समानुपातिक बजेटको व्यवस्था गरियोस् ।’

    सांसद यादवले व्यक्तिगत सम्पतीको रुपमा बजेट विनियोजन गर्ने मन्त्रीहरुलाई मन्त्री भन्न पनि लाज लागेर आउने गरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend