logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • १० स्थानमा शवदाह गृह बनाउन व्यवसायी ज्ञानेन्द्रलाल प्रधानको १० करोड दान

    १० स्थानमा शवदाह गृह बनाउन व्यवसायी ज्ञानेन्द्रलाल प्रधानको १० करोड दान

    3.5K
    Shares
    १० स्थानमा शवदाह गृह बनाउन व्यवसायी ज्ञानेन्द्रलाल प्रधानको १० करोड दान

    काठमाडौं । व्यवसायी ज्ञानेन्द्रलाल प्रधान तथा उनको परिवारले विद्युतीय शवदाह गृह बनाउन १० करोड रुपैयाँ दान दिने भएको छ । विभिन्न १० स्थानमा शवदाह गृह बनाउन व्यवसायी प्रधानको परिवारले सो रकम दिन लागेको हो ।

    ज्ञानेन्द्रलालका साथै डा. बिमला प्रधान, नमिता प्रधान, चेतन प्रधान र अबनभ जोशीले ट्रस्टमार्फत सो रकम दान गर्ने भएका छन् । सोही ट्रस्टमार्फत १० देखि १२ करोड रुपैयाँ दान गर्ने योजना रहेको प्रधानले बताए ।

    अहिलेसम्म विभिन्न स्थानमा चारवटा शवदाह गृह बनाउने काम सुरु भइसकेको छ । बाँकी ६ वटा पनि अघि बढाउने तयारी भएको व्यवसायी प्रधानले जानकारी दिए । प्रधानले सामाजिक उतरदायित्व (सिआरएस) अन्र्तगत सो रकम शवदाह गृह बनाउन दान गर्ने घोषणा गरेका हुन् ।

    प्रधानको जलविद्युत, सेयर र पर्यटन क्षेत्रमा लगानी रहेको छ । उनको बिजनेस अहिले छोरी र छोराले सम्हाल्न थालेका छन् ।

    पहिलो शवदाह गृह बुटवलको मगरघाटमा बन्दै छ । त्यहाँ दाउराको शवदाह गृह निर्माण सुरु भएको छ । एक महिनाभित्र मगरघाटमा शवदाह गृह पूर्वाधार सम्पन्न हुने प्रधानले बताए ।

    यस्तै दोस्रो चरणमा ललितपुर महानगरपालिकाको विष्णुदेवी मन्दिर नक्खुमा शवदाह गृह बनाउने तयारी भएको छ । महानगरले शवदाह गृह बनाउन ४ रोपनी जग्गा दिएकाले प्रक्रिया अघि बढेको छ ।

    महानगरसँग शवदाह गृह बनाउन सम्झौतासमेत भइसकेको उनले जानकारी दिए । अहिले जग्गामा वृक्षरोपण भइरहेको छ ।

    आगामी वर्ष शवदाह गृह निर्माणको काम सुरु हुने भएको छ । यो पनि दाउराकै हुनेछ । लास जलाउँदा दुर्गन्ध र धुवाँ नआउने प्रविधिको हुने छ ।

    तेस्रो शवदाह गृह बनेपा उपमहानगरपालिकामा बनाउने तयारी छ । यसका लागि पनि प्रक्रिया अघि बढेको छ । र, चौथो शवदाह गृह प्रधानको गृहनगर तनहुँको बन्दीपुरमा बन्ने भएको छ । बाँकी ६ वटा शवदाह गृह बनाउने योजना छ । यसका लागि रोटरीसँग सम्झौता भएको छ ।

    ‘अहिलेसम्म ६० स्थानमा शवदाह गृह बनाउनका लागि प्रस्ताव परेको छ । हामीले बनाउने अब ६ स्थानमा मात्र हो’ उनले सुनौलो नेपालसँग भने ‘बाँकी शवदाह गृह बनाउन रोटरीमार्फत चन्दा संकलन गर्ने तयारी भएको छ ।’

    उनका अनुसार एउटा इलेक्ट्रिक शवदाह गृह बनाउन साढे २ करोड रुपैयाँ लाग्छ । ग्यासको १ करोड २५ लाख र दाउराको ४० देखि ५० लाख रुपैयाँ शवदाह गृह बनाउन लाग्ने देखिएको छ ।

    १० मध्ये विद्युतीय, ग्यास र दाउराको कति बन्ने हो सोही आधारमा लागत तय हुने उनले जानकारी दिए । प्रधानले १० वटा शवदाह गृह बनाउन न्यूनतम ८ देखि १२ करोड रुपैयाँसम्म खर्च हुने बताए ।

    उनले शवदाह गृह उपकरण मात्र किन्ने र जडान गर्ने छन् । बाँकी पूर्वाधार तयार स्थानीयबाट हुनुपर्ने छ । यसका लागि स्थानीयबाट झण्डै १५ करोड रुपैयाँ थप लगानी हुनेछ ।

    शवदाह गृहमा भवनलगायत अन्य संरचना समुदायले बनाउनुपर्ने हुन्छ । खानेपानी सुविधा स्थानीयको लगानी हुनुपर्छ । स्थानीयको समेत जोड्दा १० स्थानमा नयाँ प्रविधिको सवदाहगृह बनाउन २५ करोड रुपैयाँसम्म खर्च हुने देखिएको छ ।

    शवदाह गृह नयाँ प्रविधिमा आधारित भएकाले वातावरणमैत्री हुने दाबी प्रधानको छ । दाउराबाट निस्कने ८० प्रतिशत धुलो र धुवाँ हट्ने उनको भनाई छ । यस्तै विद्युतीय ग्यासको पनि पुरै वातावरणमैत्री हुने छ ।

    हिन्दु र बौद्ध परम्पराअनुसार मृतक शरीररलाई जलाउने गरिन्छ । यसका लागि वार्षिक ४ लाख रुख काटिने गरेको उनले सुनाए । मान्छे पनि कम भएकाले वातावरणीय दृष्टिकोणले हेरेर वातावरणमैत्री बनाउनुपर्ने अवस्था छ ।

    युवाहरु विदेसिएका कारण अहिले गाउँमा लास उठाउने मान्छे नभएको अवस्था छ । यसलाई सम्बोधन गर्न प्रधानले गाडी पुगेका ठाउँमा घर नजिकै लास जलाउने व्यवस्था गर्न लागेका छन् । उनले घरमै लास जलाउने प्रविधि खरिदका लागि रोटरीसँग कुरा अघि बढाएका छन् । एक सिलिन्डरले एउटा लास जल्ने उनको भनाई छ ।

    भारतमा पनि लास जलाउदा गंगा नदी नै फोहर भएको छ । भारतको बनारसस्थित गंगा नदीमा बालुवा कोइला र खरानी बढी हुने उनले बताए । यस्तै नेपालको देवघाटमा पनि यस्तै अवस्था रहेको उनले सुनाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend