logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • होटलमा आक्रामक रुपमा लगानी बढाउँदै बाराही हस्पिटालिटी, ३ अर्बमा पोखरामा पाँचतारे बाराही सेडी बन्दै

    होटलमा आक्रामक रुपमा लगानी बढाउँदै बाराही हस्पिटालिटी, ३ अर्बमा पोखरामा पाँचतारे बाराही सेडी बन्दै

    2.2K
    Shares
    होटलमा आक्रामक रुपमा लगानी बढाउँदै बाराही हस्पिटालिटी, ३ अर्बमा पोखरामा पाँचतारे बाराही सेडी बन्दै

    काठमाडौं । पोखराबाट उदाएको बाराही हस्पिटालिटी ग्रुप अहिले होटलमा आक्रामक रुपमा लगानी विस्तार गरिरहेको छ । पोखरा, चितवन र काठमाडौंमा पाँचतारे होटल सञ्चालनमा ल्याएको बाराही हस्पिटालिटीले पोखरा लेकसाइडमा बाराही सेडी होटल निर्माण गरिरहेको छ ।

    ३ अर्ब १० करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको बाराही सेडीमा १ सय ५० वटा कोठा हुने छन् । सन् २०२६ बाट सञ्चालनमा ल्याउने योजना रहेको लक्जरी रिसोर्टमा हुने सभाहल नेपालकै सबैभन्दा ठूलो बन्ने बताइएको छ । ६३ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा १ सय ४० लक्जरी रुम, १० प्रेसिडेन्सियल स्वीट रुम, ११ सर्भिस अपार्टमेन्ट रहनेछ ।

    होटलमा २५ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) र ७५ प्रतिशत बैंकको ऋण हुने गरी लगानी संरचना तयार पारिएको छ । होटलले २ अर्ब ३८ करोड रुपैयाँ ऋणको रेटिङ पनि गराएको छ । होटलको अहिलेसम्म ६९ प्रतिशत वित्तीय प्रगति भएको छ । होटल निर्माण सुस्त गतिमा रहेको छ ।

    होटेल परियोजना सिभिलमा ६५ प्रतिशत प्रगतिको साथ संरचनाहरु विकासको मध्य चरणमा छ । मेकानिकल, इलेक्ट्रिकल र प्लम्बिङ इक्विपमेन्ट र इन्टेरियर डिजाइनिङ सुरु हुन बाँकी रहेको बाराही सेडीले जनाएको छ ।

    होटलको निर्माण अवधिका मार्च २०२५ सम्म तोकिएको छ । निर्माण अवधिको ब्याज (आइडिसी)
    अवधिको समाप्तिी २०२५ मार्चमा सकिने छ । निर्धारित समयमा पनि काम पुरा नभए होटल पूर्वाधारको लागत वृद्धिको सम्भावना उच्च रहन्छ । यसले वित्तिय जोखिम पनि ल्याउन सक्छ । प्रवद्र्धकहरूबाट परियोजना इक्विटीको २२ प्रतिशत लगानी हुन बाँकी छ ।

    होटलको ५१ प्रतिशत सेयर बाराही ग्रुपको छ । बाँकी ४९ प्रतिशतमध्ये १० प्रतिशत प्राथमिक सेयर (आइपिओ) निष्कासनको योजना छ । आइपिओ निष्कासन गर्न होटल पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ ।

    बाराही सेडीको स्थापना सन् २०१८ मा भएको हो । २०२२ मा होटल पब्लिक लिमिटेडमा परिणत भएको हो । मुख्य लबी, रिसेप्सन, दुई रेस्टुरेन्ट र एक विशेष बार, तीन सम्मेलन हल, दुई बोर्ड कोठा, स्पा, सौनाका साथै स्वास्थ्य केन्द्र, क्यासिनो ब्लक, प्रशासनिक ब्लक र मेकानिकल कोठा हुने छन् ।

    होटल विकासको मध्य चरणमा छ । ति मध्ये ३ ब्लकहरूमा सिभिल कार्यहरू उन्नत चरणमा छन् । होटलको सम्पत्ति सेडी हाइट, पोखरामा छ । निर्माणाधीन होटल पोखरा एयरपोर्टको नजिकै छ। हरिप्रसाद पौडेल र उनका परिवारका तीन सदस्यको स्वामित्वमा ७५ प्रतिशत सेयर आठ व्यक्तिहरूको लगानी छ ।

    ४० वर्षअघि पोखरामा १० कोठाको प्याराडाइज गेस्ट हाउस सञ्चालन गर्दै स्थापना भएको बराही ग्रुपले हाल पोखराका साथै चितवन र काठमाडौंमा समेत होटल सञ्चालन गर्दै आएको छ । पोखराको लेकसाइडमा बाराही हस्पिटालिटीका संस्थापक हरिप्रसाद पौडेल र बसन्ती पौडेलले १० कोठासहित प्याराडाइज गेस्ट हाउस सुरु गरेका थिए । सोही होटलमा पछि सुविधा थप गरी सन् १९९१ मा होटल बाराही नामकरण गरिएको थियो ।

    पौडेलका छोराहरू विप्लव र वैभवसँगै दुई दशकभन्दा लामो समयदेखि योगेन्द्र थापासहितको टिमले बाराही ग्रुप अगाडि बढाउँदै आएका छन् । एक वर्षअघि राजधानीको कान्तिपथमा पाँचतारे बाराही काठमाडौं होटल सञ्चालनमा ल्याएको छ । हस्पिटालिटीअन्तर्गत चितवनको बाराही जंगल लज, पोखराको होटल बाराही, सराङकोट माउन्टेन लज र बाराही काठमाडौं सञ्चालनमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend