logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • आइएमई ग्रुपले १ अर्ब लगानीमा मौलाकाली हिलमा चारतारे रिसोर्ट बनाउँदै, कात्तिकमा सम्पन्न होला ?

    आइएमई ग्रुपले १ अर्ब लगानीमा मौलाकाली हिलमा चारतारे रिसोर्ट बनाउँदै, कात्तिकमा सम्पन्न होला ?

    553
    Shares
    आइएमई ग्रुपले १ अर्ब लगानीमा मौलाकाली हिलमा चारतारे रिसोर्ट बनाउँदै, कात्तिकमा सम्पन्न होला ?

    काठमाडौं । आइएमई ग्रुपको लगानीमा मौलाकाली हिलमा चारतारे स्तरको रिसोर्ट निर्माण भइरहेको छ । निर्माणाधीन रिसोर्ट आउँदो कात्तिक (अक्टोबर) सम्ममा सम्पन्न हुने अनुमान गरिएको छ । निर्माणाधीन रिसोर्ट मौलाकाली केबुलकार लिमिटेडको दोस्रो परियोजना हो। केबुलकार २०८० वैशाख १८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आइसकेको छ ।

    होटल परियोजनाको ५४ प्रतिशत वित्तीय प्रगति भएको छ । केबुलकारको माथिल्लो स्टेशनसँगै बनिरहेको होटलमा ६५ कोठाका साथै ब्याङवेट हल, स्विमिङ्ग पुल र रेष्टुरेन्ट रहने छ । रिसोर्ट परियोजना नबलपरासीको गैंडाकोटमा छ । रिसोर्ट निर्माण उन्नत चरणमा छ ।

    केबुलकार र रिसोर्ट परियोजनाको अनुमानित कूल लागत १ अर्ब ९० करोड ३० लाख रुपैयाँ रहेको छ । रिसोर्टमा मात्रै ९३ करोड ७० लाख रुपैयाँ लगानी हुने छ । प्रतिकोठा लागत १ करोड ४० लाख रुपैयाँ रहेको छ । सडक पहुँचको अवस्था कमजोर भएकाले वर्षाको समयमा निर्माण सामग्री आपूर्ति कम हुन्छ । जसले होटल निर्माणलाई प्रभावित पार्न सक्छ ।

    वरपरको क्षेत्र मुख्यतया भरतपुर र सौराहामा धेरै होटलहरु भएकाले मौलाकालीमा निर्माण भइरहेको रिसोर्टले पनि प्रतिस्पर्धाको सामना गर्नुपर्ने अवस्था छ । यसले कम्पनीको नाफामा असर गर्ने संभावना छ ।

    काम सुरु भएको १४ महिनामा केबुलकार परियोजना सम्पन्न भएको थियो । यसअघि केबुलकार पूर्वाधार बनाउन १ अर्ब ११ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएकोमा निर्धारित समयभन्दा अगावै सम्पन्न भएको थियो । कूल लागतको १३ प्रतिशत अर्थात १५ करोड रुपैयाँ लागत घटेको कम्पनीले जनाएको छ ।

    केबुलकार सञ्चालन भइरहेकाले कम्पनीको वित्तीय अवस्थामा सुधार भइरहेको छ । २०२४ को १० महिनामा मौलाकालीको अपरेसन प्रोफिट मार्जिन ६३ प्रतिशत देखिएको छ । विकासकर्ता मौलाकाली केबुलकार लिमिटेडले १ अर्ब ५३ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

    मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन् । केबुलकारमार्फत बटम स्टेसनबाट टप स्टेसनसम्म पुग्न करिब ५ मिनेटको समय लाग्छ । केबलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पुजाआजाका लागि जाने भक्तजनहरुका लागि सहज भएको छ ।

    त्यसैगरी, ग्रुपको मुख्य लगानी राजधानीको डिलक्स रिसोर्टसहितका चन्द्रागिरीमा केबुलकार सञ्चालन भइरहेको छ ।

    ग्रुपद्वारा प्रवद्र्धित रुपन्देहीको बुटवल बजारदेखि पाल्पाको बसन्तपुर सम्म लुम्बिनी केबुलकार सञ्चालन भइरहेको छ । चन्द्रागिरि केबलकार चढेर गएपछि भालेश्वर मन्दिरको दर्शन गर्न पाएजस्तै लुम्बिनी केबलकार चढेर दुर्गा माता र मौलाकालिका केबलकार चढेर मौलाकालिका मन्दिरको दर्शन गर्न पाइने छ । अध्यक्ष ढकालले धार्मिक स्थलमा केबलकार र होटल निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्न लागि परेका छन् ।

    ८ अर्ब लगानीमा पाथिभरा र कैलालीमा केबुलकार

    ग्रुपको लगानीमा सातवटै प्रदेशमा ठूला र नमूना पर्यटकीय पूर्वाधार निर्माणको चरणमा छन् । यसैक्रममा ३ अर्ब रुपैयाँ लगानीमा ताप्लेजुङमा पाथिभरा केबुलकार निर्माणको तयारीमा छ । यसका लागि काम भइरहेको छ ।

    यस्तै कैलालीको चिसापानीदेखि राजकाँडासम्म जालपादेवी केबुलकारको पहिलो चरणको निर्माण सुरु भएको छ । ५ अर्ब रुपैयाँको लगानीमा निर्माण हुन लागेको यस केबुलकारको कूल लम्बाइ तीन दशमलब एक किलोमिटरको हुनेछ । केबुलकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहनेछन् । सो यात्रा करिब १० मिनेट हुने जनाइएको छ । केबुलकार दैनिक छ हजार जना यात्रुलाई सेवा दिने क्षमताको निर्माण हुनेछ ।

    कर्णालीको चिसापानी पुल नजिकै रहेको आयोजनास्थलबाट सुरु हुने केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाशधामलगायतका धार्मिकस्थल, हात्ती ढुङ्गालगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ ।

    केबुलकार निर्माणका लागि आवश्यक उपकरण अष्ट्रेलियाको डोप्लन मेयर कम्पनीबाट ल्याइनेछ । केबुलकारको निर्माणसँगै चिसापानीमा ५० बेड र राजकाँडामा १ सय बेड क्षमताका होटेल र सभाहल निर्माण गरिनेछ ।

    मौलाकालीको १० महिनामा ९.८० करोड कारोबार

    मौलाकाली केबुलकारले १० महिनामा ९ करोड ८० लाख रुपैयाँ कारोबार गरेको छ । सञ्चालनमा आएको पहिलो वर्ष केबुलकारले २ अर्ब ४० करोड रुपैयाँ मात्र व्यापार गरेको थियो । केबुलकारको व्यापार बढ्दै गएको देखिएको छ । मौलाकाली केबुलकारमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र हेमराज ढकालको लगानी रहेको छ । कम्पनीले साधारण सेयर निष्कासन गर्दैछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend