logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • एउटै पार्टीले बहुमत ल्याउने गरी समानुपातिक संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्छ : डा. मिनेन्द्र रिजाल

    एउटै पार्टीले बहुमत ल्याउने गरी समानुपातिक संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्छ : डा. मिनेन्द्र रिजाल

    770
    Shares
    एउटै पार्टीले बहुमत ल्याउने गरी समानुपातिक संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्छ : डा. मिनेन्द्र रिजाल

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले राजनीतिक नेतृत्वबाट नागरिकमा परेको निराशा चिर्न कांग्रेस र नेकपा एमालेले जोखिम उठाएको बताएका छन् । उनले अहिलेको राजनीति र राजनीतिबाट देशमा चुलिएको निराशालाई चिर्न कुनै न कुनै बेला कांग्रेस–एमाले एक हुनुपर्ने अवस्थालाई मध्यनजर गरी एकपटक एक ठाउँमा उभिएको जिकिर गरेका हुन् ।

    उनले एमाले र कांग्रेसले आफ्ना बीचका अविश्वासहरुलाई बिर्सेर देश प्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर जोखिम उठाएको बताए । उनले एमाले र कांग्रेसका शीर्ष नेताहरु देशका लागि आफ्नो छाप छोड्न एक ठाउँमा उभिएको बताए । उनले आगामी दिनमा पनि दुबै नेता (नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली) जोखिममा रहेको बताए ।

    उनले जोखिमका बाबजुत पनि संविधानलाई कहीँ न कहीँ अहिलेसम्मको अभ्यासबाट समृद्ध बनाउन आवश्यक रहेको बताए । उनले अहिलेको संविधान छुँदै नछोएको संविधान नभएको भन्दै अहिलेसम्म दुई पटक संशोधन भइसकेको बताए । उनले अहिले राजनीतिक पुँजी निर्माण गर्न आवश्यक रहेको बताए । शासनलाई ठिक बाटोमा नलग्दासम्म समस्याहरु सिर्जित भइरहने भएकाले कांग्रेस र एमालेले शासनलाई ठिक बाटोमा लैजान आवश्यक रहेको बताए ।

    उनले एउटाले अर्कोलाई झुक्याउन खोज्न र सत्ताकै लागि मात्रै झगडा गर्ने कुराबाट जनता आजित भइसकेको भन्दै अब देश विकासका लागि काम गर्नुपर्ने बताए ।

    उनले भने, ‘आज राजनीति जहाँ छ, त्यो राजनीतिबाट देशमा निराशा चुलिएको छ । र, कहीँ न कहीँ एमाले र कांग्रेसले आफ्ना बीचका अविश्वासहरुलाई बिर्सेर देशका प्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर केही जोखिम उठाउनुपर्ने थियो । त्यो जोखिम उठाउने काममा निम्ति दुवै नेताहरु सहमत हुनुभयो । जोखिम छ दुबैलाई । एउटालाई मात्रै छ भन्दिन मैले । हामी कहाँ बढी होला जोखिम । किनकी हामी कुरेर बस्ने पार्टी छौं । ओलीजीले अहिले नै शुरु गर्नुहुन्छ । त्यसकारण जोखिम छ, नभएको होइन ।

    तर जोखिमको बाबजुद हामीले पहिला बनाएको संविधानलाई कहीँ न कहीँ अहिलेसम्मको अभ्यासबाट अझ समृद्ध गर्नुछ र परिमार्जन गर्नुछ। यो संविधान छुँदै नछोएको संविधान होइन । दुई वटा संशोधन भइसक्यो । त्यसमध्ये एउटा संशोधन त मैले हालेको संशोधनलाई स्वीकार गरेर भएको हो । त्यसैले यो जीवित दस्तावेज हो । पहिले २०४७ सालको संविधान नचलाउने भन्दा त्यसलाई हामीले फाल्नुपर्ने अवस्था सृजना भयो ।’

    ‘त्यसैले संविधानलाई अहिलेसम्मको अनुभव, संघीयताको अनुभव, स्थानीय तहको प्रभावकारिताको अनुभव, अन्तर प्रदेशको समन्वयको अनुभव, संवैधानिक निकाय र अंग, न्यायालयहरुको नियुक्ति । त्यो नियुक्तिमा आवश्यक सुधार नहुने हो भने ती निकायहरु कार्यकारिणीप्रति नतमस्तक हुने जस्तो बाध्यता सृजना हुन्छ थाल्छ । त्यतातिर ध्यान दिनुछ । केही काम गर्नुछ ।

    त्यो काम गर्नका लागि कांग्रेस र एमाले कसरी तयार हुनुपर्छ भने एउटा पार्टी सत्तामा जाने, एउटा पार्टी प्रतिपक्षमा बस्ने हो । त्यो प्रतिपक्षमा बस्ने पार्टीले भोलि प्रतिपक्षमा बस्दापनि लोकतन्त्रको मुल आधारभुत मान्यताहरुमा तलमाथि नहुने स्थितिमा आश्वस्त रहनसक्छ भनेर यो जोखिम उठाउनुपरेको थियो । त्यसैले यो जोखिम उठाउनुभएको छ । दुवै नेताहरुलाई त्यस अर्थमा मैले बधाई दिनुपर्छ’ उनले भने ।

    कांग्रेस र एमाले जनतालाई आश्वस्त पार्न सक्नुपर्छ

    देश विकासका लागि काम नगर्ने हो भने आगमी निर्वाचन दुवै पार्टीका लागि कठिन हुने बताए । कांग्रेसका लागि अझ बढी कठिन बन्ने उनको निस्कर्ष छ । निर्वाचनमा जाने क्रममा मधेस, शहरी क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले दुवैले आफ्नो बलियो आधार गुमाएको जिकिर गरे । आधार गुमाउँदै जाँदा आगामी दिनमा दुवै दलको राजनीति सहज नहुने उनको अनुमान छ । दुवै दलका नेताले आफ्नो कार्यकाललाई अब जनताले स्मरण गर्नसक्ने गरी योगदान दिनसक्नुपर्ने बताए ।

    संविधानलाई अझ बढी समृद्ध बनाउने कुरामा कांग्रेस र एमालेले पूरै देशलाई आश्वस्त पार्न सक्नुपर्ने बताए । पार्टीको तर्फबाट सबै नेताहरुको सहयोग वर्तमान सरकारलाई रहने पनि बताए । उनले साना राजनीतिक दलहरुले पनि अभिमान नभइ संयमता अपनाएर काम गर्नुपर्ने बताए ।

    नयाँ दलहरुको परिवर्तनको एजेण्डा कमजोर भयो

    उनले परिवर्तनकारी शक्तिको नाम लिएर उदाएका नयाँ राजनीतिक दलहरुको परिवर्तनको एजेण्डा कमजोर भएको बताए । उनले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै २०६४ सालमा उदाएका राजनीतिक दलहरुको परिवर्तनकारी एजेण्डा ओझेलमा परेको बताए ।

    उनले सत्तादेखि सत्तासम्मका लागि राजनीतिक हुँदा परिवर्तनको नाममा उदाएका कुनै पनि शक्तिले आफ्नो अन्तिम बिन्दुसम्म पुग्न नसकेको बताए । उनले परिवर्तनलाई प्रतिनिधित्व गरेर बलियो प्रतिपक्ष बन्न आग्रह गरे । उनले मधेसी राजनीतिक दलहरुले पनि सत्तामोहमा फसेर आफ्ना एजेण्डाहरु बिर्सिएको बताए । जुन मुद्दालाई प्रतिनिधित्व गरेर राजनीतिमा उदाइएको हो त्यही मुद्दा बिर्सिएको बताए ।

    उनले भने, ‘मैले आजको दिनमा उपदेश दिन थालेँ भने त्यो साना पार्टीहरुलाई पाच्य हुन्न । त्यो बाटोमा जानुहुन्न । उहाँहरुसँग मैले यति मात्रै भन्ने हो, अत्यन्तै विनम्र भावमा तपाईहरु परिवर्तनकारी शक्ति हुँ भनेर आउनुभएको हो । अहिले नयाँ आउने पनि, २०६४ सालमा आउने पनि । तपाईंहरुको परिवर्तनको एजेण्डा कमजोर भएको छ भन्ने लाग्यो र त्यो परिवर्तनलाई प्रतिनिधित्व गर्दै बस्नुभयो भने त बलियो प्रतिपक्ष बन्नुहुन्छ ।

    मधेसमा आएका दलहरु पनि सत्तामा त बसिरहनुभएको त कुनैपनि उपायबाट । तर उहाँहरुको आधार पनि कमजोर भयो त । आजको दिनमा जनता समाजवादी पार्टी अथवा लोकतान्त्रिक समाजवादी पार्टीको रुपमा चिनिने पार्टीहरु हिजोको २०६४ सालको मधेसको आन्दोलनबाट स्थापित पार्टी थिए । तिनको पनि आधार अलि कमजोर भएको छ । त्यसैले उहाँहरुले पनि ध्यानमा के राख्नुपर्यो भने जे मुद्दालाई प्रतिनिधित्व गरेर उहाँहरु आउनुभएको थियो ।

    त्यो मुद्दालाई स्थापित गर्ने कामभन्दा उहाँहरु सत्तामा आफू स्थापित हुने प्रतिष्पर्धामा अलि बढी ध्यान पुुगेको जस्तो देखिन्थ्यो । त्यसैले आजको दिनमा सबै विनम्रताका साथ उहाँहरुले जनतालाई परिवर्तनका लागि मत हाल भनेर आउनुभएको थियो । त्यसलाई प्रतिनिधित्व गर्दै बस्नुभयो भने कांग्रेस एमाले सरकारमा रहँदा पनि आम जनताको कुरा पार्लियामेण्टमा लिएर जान सक्नुहुन्छ । त्यो काममा सशक्त हुनुहोस् । किनभने सशक्त प्रतिपक्ष भयो भने लोकतन्त्र त बलियो हुँदै जाने हो नि ।’

    एउटा पार्टीले एक्लै बहुमत पाउन सक्ने गरी समानुपातिकको संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्छ

    रिजालले गत निर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले कांग्रेस-एमाले एक्ला-एक्लै चुनाव लड्न आग्रह गरेको स्मरण गर्दै आफू पनि सोही पक्षमा रहेको बताए । तर पार्टी सभापति देउवाले माओवादीसँग मिलेर चुनाव नलड्दा माओवादी एमालेसँग मिल्न जाने कुरालाई मध्यनजर गरी सँगै चुनाव लड्नुपरेको बताए ।

    उनले परिणामतः निर्वाचन लगत्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेसँग मिलेर सरकार बनाउन गएको पुष्टिले सभापति देउवाको सोचलाई स्वीकार गर्न बाध्य भएको बताए । उनले त्यसैले पनि अहिलेको निर्वाचन प्रणालीलाई परिमार्जन र संशोधन गर्न आवश्यक रहेको बताए । संशोधन र परिमार्जन भनेको अहिले बाहिर आएको भ्रम जस्ते नरहेको उनले बताए ।

    उनले समुदाय, पहिचान, महिला, आदिवासी, जनजातिमध्ये पनि अल्पसंख्यकको, मधेसीहरुमध्ये पनि अल्पसंख्यकको प्रतिनिधित्वको बाटो यथावत राखि एउटा पार्टीले एक्लै बहुमत पाउन सक्ने गरी समानुपातिकको संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्ने बताए । उनले त्यो हुनसके मात्रै कुनै एक पार्टीले बहुमत नजिक वा बहुमत प्राप्त गर्नसक्ने बताए ।

    नेता रिजालले जनताले खोजेको परिवर्तन, विकास र समृद्धिलाई मध्यनजर गरी वर्तमान सरकारले काम कारबाही अघि बढाउने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend