logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मेलम्चीको पानी वितरणलाई प्राथमिकता दिएर काम गर्ने मन्त्री यादवको प्रतिबद्धता

    मेलम्चीको पानी वितरणलाई प्राथमिकता दिएर काम गर्ने मन्त्री यादवको प्रतिबद्धता

    609
    Shares
    मेलम्चीको पानी वितरणलाई प्राथमिकता दिएर काम गर्ने मन्त्री यादवको प्रतिबद्धता

    काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको सम्बन्धमा जनतामा रहेको निराशालाई आशामा बदल्न मेलम्चीको पानी वितरणलाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेड अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयको काठमाडौँ उपत्यका खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची उप–आयोजना–२ को जानकारी (ब्रिफिङ) लिने क्रममा मन्त्री यादवले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    उनले भने, “हामीले काम मार्फत मेलम्ची खानेपानी आयोजना सम्बन्धी सृजित गलत भाष्यलाई चिर्नु पर्छ र जनतालाई मेलम्चीको पानी १२ महिना कसरी पुर्याउन सकिन्छ त्यसतर्फ दिन रात नभनी काम गर्नुपर्छ । यसको लागि म प्रतिबद्ध छु, के गर्नु पर्छ म गर्छु ।”

    ब्रिफिङका क्रममा मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रणाली सुधार र फोहर पानी व्यवस्थापन आयोजनाहरुको प्रगति तथा सञ्चालनमा रहेका कार्यक्रमहरुको बारेमा जानकारी पनि लिएका थिए ।

    उनले मन्त्रालयको प्राविधिक र प्रशासनिक कार्य प्रवाहलाई बुझ्दै जनताको गुनासोलाई ध्यानमा राखेर मन्त्रालयका कर्मचारीहरुसँग मिलेर काम गरिरहेको बताए । उनले स्थानीय सरकारसँगको समन्वयको आवश्यकता औँल्याउँदै काठमाडौँ महानगरपालिकाको सहयोगका लागि त्यहाँका प्रमुख प्रशासकीय अधिकृतसँग फोनमा छलफल गरेको उल्लेख गरे ।

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विषयमा आएका गुनासोको जानकारी लिएर आफू गम्भीर रहेको बताउँदै उनले कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे ।

    “म पार्टीभन्दा जनताको मन्त्री हुँ, मेरो पहिलो प्राथमिकता जनताको समस्या समाधान गर्नु हो,” उनले भने, “मेलम्चीको मुहान सार्ने काम र वर्षभरि काठमाडौँका बासिन्दालाई खानेपानी पुर्याएर देखाउनु पर्छ ।”

    मन्त्री यादवले मेलम्ची आयोजनालाई सफल पार्दै काठमाडौँ उपत्यकाका बासिन्दालाई १२ महिना खानेपानी पुर्याउने लक्ष्य अनुसार सबै मिलेर काम गर्दा मात्र यो सम्भव हुने विश्वास समेत व्यक्त गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend