टोकियो । बढ्दो लागत, श्रमको अभाव र आर्थिक सहयोगमा आएको कमीका कारण जापानमा टाट पल्टिने कर्पोरेटहरु वर्षको पहिलो छ महिनामा वार्षिक रूपमा २२ प्रतिशतले बढेर एक दशककै उच्चस्तरमा पुगेको क्रेडिट रिसर्च कम्पनीको हालैको सर्वेक्षणले देखाएको छ ।
जनवरीदेखि जुनसम्म कूल टाट पल्टिनेको सङ्ख्या चार हजार आठ सय ८७ पुगेको छ । यो सन् २०१४ यताकै उच्च रहेको टेइकोकु डाटा बैङ्कले आफ्नो पछिल्लो अनलाइन रिपोर्टमा उल्लेख गरेको छ ।
टाट पल्टिनेमा उद्योगका आधारमा सेवा उद्योगमा सबैभन्दा बढी एक हजार दुई सय २८ रहेका छन् । त्यसपछि खुद्रा क्षेत्रको एक हजार २९ र निर्माणमा नौ सय १७ रहेको तथ्याङ्कले देखाएको छ ।
यस अवधिमा साना तथा लघु उद्यमहरू सबैभन्दा बढी प्रभावित भएका छन् । बढ्दो लागत र बढ्दो श्रमिक अभावको बीचमा येनको निरन्तर अवमूल्यनका कारण आर्थिक परिदृश्य थप जटिल भएको छ ।
टेइकोकुले निजी खपतमा कमीबाहेक कर्पोरेट दिवालिया हुने सङ्ख्या अझ बढ्नसक्ने अनुमान गर्दै यो सम्भवतः सन् २०२४ को सम्पूर्ण वर्षमा १० हजारभन्दा बढी हुने बताएको छ ।
जापानी कम्पनीहरूले जुन महिनामा मात्रै कूल आठ सय सात कानूनी लिक्विडेशन प्रक्रिया अघि बढाएका छन् । यो वार्षिक रूपमा वृद्धिको लगातार २६ औँ महिना हो ।