logo

२०८१ मंसिर ३ सोमबार

logo
  • सोमबार, ३ मंसिर २०८१
  • एसिया कप खेलेर फर्किएपछि कप्तान इन्दुले भनिन् – धेरै पक्षमा सुधार आवश्यक छ

    एसिया कप खेलेर फर्किएपछि कप्तान इन्दुले भनिन् – धेरै पक्षमा सुधार आवश्यक छ

    868
    Shares
    एसिया कप खेलेर फर्किएपछि कप्तान इन्दुले भनिन् – धेरै पक्षमा सुधार आवश्यक छ

    काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले एसिया कप जस्तो ठूला प्रतियोगिता खेल्न धेरै पक्ष सुधार गर्नुपर्ने बताएकी छन् । श्रीलंकामा जारी महिला एसिया कपमा खेलेर स्वदेश फर्कने क्रममा कप्तान इन्दु भारत र पाकिस्तानजस्तो बलिया टोलीसँग खेल्न धेरै पक्षमा सुधार आवश्यकता रहेको औंल्याएकी हुन् ।

    उनले एसिया कपमा ऐतिहासिक सफलता निकाले पनि ठूला टोलीविरुद्ध जित निकाल्न ब्याटिङ, बलिङ र फिल्डिङमा सुधार गरे भारत र पाकिस्तानसँग जित्न सकिने बताइन् । महिला ट्वान्टी–२० एसिया कपमा सहभागिता जनाएको नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।

    नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यवाहक सदस्यसचिव अञ्जन धमला र सदस्य प्रकाशकुमार कुसारीले स्वागत गरेका थिए । प्रतियोगितामा तीन खेल खेलेको नेपालले एक जित र दुई हारको नतिजा निकाल्यो । पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले हराएको थियो ।

    एसिया कप इतिहासमा नेपालको यो पहिलो जित हो । जसरी नै युएइसँग जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको र सफल पनि भएको नेपालकी कप्तान इन्दुले बताइन् । पाकिस्तानसँग पनि राम्रो खेल्दै सेमिफाइनलमा पुग्ने लक्ष्य राखे पनि सोचेअनरूप हुन नसकेको उनको भनाइ छ ।

    तर टेस्ट राष्ट्रसँग खेल्दा नेपालसँग पनि सम्भावना छ भन्ने प्रमाणित भएको कप्तान इन्दुको विश्वास छ ।

    नेपालले पाकिस्तानसँग नौ विकेट र भारतसँग ८२ रनको हार व्यहोरेको थियो । नेपालले फ्लड लाइटमा खेल्दा फिल्डिङ केही गल्ती गरेको थियो । तर फ्लड लाइटका कारण धेरै समस्या नभएको नेपाली टोलीकी कप्तान इन्दुले बताइन् । भारत र पाकिस्तानजस्तो राम्रो टोलीसँग खेल्दा दबाबका बीच कसरी खेल्ने लगायत धेरै कुरा पनि सिकेर आएको उनले बताएकी छन् ।

    तेस्रो पटक एशिया कप खेलेको नेपालले ऐतिहासिक सफलता निकाले पनि समूहचरण पार गर्न सकेन । एसिया कपको इतिहासमा आफ्नो कुल ११ खेलमा एक जितसहित नेपाल फर्किएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend